Logo

चीनमा कोरोना भाइरसको संकट छिट्टै हट्ने थाइ विश्वास



Spread the love

२२ माघ, बेइजिङ । चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसबाट चीनले छिट्टै नै मुक्ति पाउने विश्वास थाइल्याण्डले लिएको जनाएको छ । थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुदिवानीले सो विश्वास व्यक्त गर्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

प्राप्त समाचारअनुसार थाइ विदेशमन्त्री डोनले बुधबार बिहान चिनियाँ विदेशमन्त्री वाङ यीसँगको फोनवार्ताका क्रममा सो विश्वास व्यक्त गर्नुभएको हो ।

चिनियाँ विदेशमन्त्री यीसँगको फोनवार्ताका क्रममा बुधबार बिहान थाइ विदेशमन्त्री डोनले यस्तो संकटको घडीमा थाइल्याण्ड सधैँ चिनियाँ नागरिक र चीन सरकारको पक्षमा रहेको आश्वासन पनि दिनुभएको थियो ।

त्यस क्रममा उहाँले चीनलाई यस्तो अप्ठेरो परिस्थितिमा आवश्यक पर्ने सबै खालको सहयोग उपलब्ध गराउन थाइ सरकार तत्पर रहेको पनि बताउनुभएको थियो ।

चीनबाट सुरू भई विश्वका करिब दुई दर्जन मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरी महामारीको रूप नलिएको तर यसको खतरा भने बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले मङ्गलबार बताएको थियो ।

डब्लूएचओको सङ्क्रमणजन्य रोगको जोखिमविरूद्धको तयारी शाखाका प्रमुख सिल्भी ब्राएन्डले अहिले विश्व कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणको माहामारीको अवस्थामा रहेको बताउनुभएको थियो

। यसअघि नै विश्व स्वास्थ्य संगठनले यस भाइरसको सङ्क्रमणको महामारीको जोखिमको बहुकेन्द्रमा रहेको बताएको थियो ।

कोरोना भाइरसका कारण चीनमा मङ्गलबारसम्म ४७९ जनाको मृत्यु भइसेकेको छ । यसैगरी १६ हजार ६७८ व्यक्तिमा सङ्क्रमण भएको कारण उपचार गराइरहेका छन् ।

ती मध्ये २ हजार ५२० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ । सो प्रान्तमा यस भाइरस सङ्क्रमणको कारण उपचार गराइरेहका ५२० उपचारपछि घर फर्किएका मङ्गलबार जनाइएको छ ।

सो फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री वाङले थाइल्याण्ड सरकारलाई विशेष धन्यवाद दिनुभएको थियो । थाइ विदेशमन्त्री डोनले चीन र थाइल्याण्ड एकै परिवारका नागरिकजस्तो रहेका र कुनै पनि देशमा अप्ठेरोको समयमा यी दुवै देशलाई उत्तिकै समस्या पर्ने धारणा राखेपछि चिनियाँ विदेशमन्त्री वाङले थाइ सरकारलाई विशेष रुपमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

चीनको मध्यक्षेत्र हुबेईको वुहानबाट पहिलो पटक डिसेम्बरमा देखा परेको उक्त भाइरस विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भए पनि त्यहाँ सङ्क्रमण महामारीको रूपमा नरहेको चिनियाँ विदेशमन्त्रीले बताउनुभएको थियो ।

विश्व स्वास्थ्य संगठनले चीनको हुबेईमा शीघ्र सङ्क्रमण भइरहेको भए पनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटफुट अवस्थामा नै रहेको छ बताएको थियो ।

चीनका अधिकारीहरूले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गरेका र अन्य प्रभावित मुलुकहरूले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानीहरू अपनाएको पाइएको पनि उक्त संगठनले जनाएको छ ।

चीनको हुबेईका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकहरूले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न सफलता मिल्ने विश्वास थाइ विदेशमन्त्रीले व्यक्त गर्नुभएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङले पनि विश्वका अरु कुनै देश तथा भूभागमा देखिने महामारीको दरभन्दा यस संक्रमणको फैलावट दर बढी नभएको र चीनले यसको नियन्त्रणका लागि सक्दो उपायहरु अवलम्बन गरिरहेको बताउनुभएको थियो ।रासस

प्रतिक्रिया दिनुहोस्