Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५६३,५९८
संक्रमित
१२,६५७,८२२
निको भएका
७,३८८,५७८
नेपालमा कोरोना भाइरस
मृत्यु
३८
संक्रमित
१६७१९
निको भएका
८४४२

महाकवि लक्ष्मीप्रसाद देवकोटा: एक दृष्टिकोण




नेपाली भाषाको क्षेत्र अङ्ग्रेजी भाषाजस्तै व्यापक हुन्थ्यो भने विलियम सेक्सपियरको ठाउँमा आज देवकोटा हुन्थे । उनी महाकवि मात्र नभई एक युगपुरुष हुन्, मिथक हुन्, ज्ञानका मार्गद्रष्टा हुन् ।
शंकर लामिछानेले देवकोटालाई भनेका थिए,“ कविज्यू ! तपाईं खराब समयमा जन्मिनुभयो । तपाईंको प्रतिभालाई सरकारले बुझ्न सकेन ।”


अब बुझोस् पनि कसरी ? एक त देवकोटा क्रान्तिकारी । अर्कोतिर राणा शासनको भुंग्रोमा । राणा शासनको अँध्यारोमा देवकोटोका ज्ञानको आलोक पहिचान हुने कुरै भएन ।
देवकोटाको सिर्जनशीलता अद्यितीय थियो । उनले एक रातमा खण्डकाव्य कुञ्जिनी,दश दिनमा महाकाव्य सुलोचना अनि शाकुन्तलजस्तो महाकाव्य तीन महिनामै तयार पारे ।

तिनताक सबाल्टर्नहरू शायदै नायक (प्रोटागोनिष्ट) बनाइन्थे । तर, उनले मगरलाई प्रोटागोनिष्ट बनाए । त्यसैले त उनीउदात्त स्वभावका थिए । बाटा मगन्ते, भिखारी देखेभने कोट टक्टक्याउँथे भन्ने मिथ नेपाली समाजमा व्याप्त छँदैछ । उनका दयालु स्वभावका अनेकन किस्सा साहित्यवृत्तमा छलफलका विषय बनाइन्छन् ।


२०१४ सालमा शिक्षामन्त्री भएपनि देवकोटामा सरलता प्रशस्त मात्रामा देख्न सकिन्थ्यो ।
देवकोटा नेपाली,संस्कृत अनि अङ्ग्रेजी तीनवटै भाषामा पोख्त थिए । उनले अङ्ग्रेजीमा समेत राम्रो कविता कोर्न सक्थे । त्यो पनि छोटो समयमा । उनी महाकवि मात्र नभई आँसु कवि पनि हुन् । नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराका प्रवर्तकका रूपमा देवकोटा चिनिन्छन् । साहित्यलाई कुनै नियममा बाँध्नुहुँदैन, यो त हृदयबाट आउने स्वतस्फूर्त धारा हो भनेर विचार गरेकाले कतिपय बेलामा उनलाई एक्ल्याइयो पनि ।

महापण्डित राहुल साकृत्यायान भन्छन्,“नेपाली कविता साहित्यको थालनी सोह्रौँ शताब्दिदेखि बीसौँ शताब्दिको मध्यसम्म अनेकन कठिनाइहरु पार गर्नुप¥यो । नेपाली कवितालाई भने त्यो त्यति समय लागेन । भारतको चार शताब्दिको यात्रा नेपाली कविताले एकै शताब्दिमा पूरा गर्यो । यसैगरी अङ्ग्रेजी साहित्यमा एक सय वर्षमा धेरैको प्रयत्नबाट पूरा भएको साहित्यभण्डार यहाँ एक्लो देवकोटाबाट पुरा भयो । यसको एउटा निर्विरोध प्रमाण देवकोटा नै हुन् । हाम्रा हिन्दीमा पन्त, प्रसाद र निरालाहरुलाई देवकोटाभित्रै पाउन सकिन्छ । देवकोटा जनताको सरल, सरस र सहज भाषामा मुनामदन,कुञ्जिनीका महान् नायक हुन् ।”

अझ यो पनि भन्ने गरिन्छ कि देवकोटालाई महाकविको रूपमा चिनाउने पनि महापण्डित राहुल नै हुन् । साहित्यिक गोष्ठीमा देवकोटाको खुब प्रशंसा गरेका थिए ।

यसैगरी कम उमेरमा महाकाव्य लेखेर मदन पुरस्कार जितेका मोदनाथ प्रसित भन्छन्, “देवकोटालाई चुलीमा पु¥याउने काव्य भनेकै मुनामदन हो । उनको ख्यातिको सत्तरी प्रतिशत श्रेय मुनामदनलाई जान्छ भने बाँकी बीस उहाँको हृदय विदारक जीवन अनि त्याग र स्वाभिमानीलाई छ । अनि बाँकी दश प्रतिशत मात्र अरु सारा ढर्राहरूलाई छ । देवकोटाको कल्पनाशक्ति यति थियो कि उनी भोट तिब्बत नगएपनि त्यहाँको बारेमा दुरुस्तै उतारे । मदनलाई प्रतिनिधि पात्रको रूपमा चुनेर देवकोटाले सम्पूर्ण नेपालीको मुग्लान पस्नुपर्ने बाध्यतालाई बढो प्रभावकारी ढंगले प्रस्तुत गरे । यति मात्र हाइन उनले लोक झ्याउरेलाई पनि काव्यमा स्थान दिए । मुनामदन पढ्दा जहाँ एकातिर हामी उच्चकोटीको काव्य पढिरहेका हुन्छौँ भने अर्कातिर नेपाली जनजीवन नै मुनामदन हो जस्तो अनुभूति हुन्छ । यस किसिमको व्यावहारिक र यथार्थ जनचित्र कविको अरू कृतिमा देखा पर्दैन ।”

कुञ्जिनी खण्डकाव्यमा गोरेको र कुञ्जिनीको आत्मिक प्रेमलाई देखाइएको छ । प्रेमले जातभात नभन्ने कुरा यसबाट प्रमाणित हुन्छ । यसैगरी देवकोटा क्रान्तिकारी थिए भन्ने कुरा प्रष्ट छ्याङ्ग देखिन्छ । धनी र गरिबको प्रेम सफल हुन नदिने यो समाजको कुकृत्यलाई यस खण्डकाव्यबाट बुझ्न सकिन्छ । एउटा गरिब अनि जनजाति पात्रलाई हिरो बनाएर देवकोटाले जातिय उत्थान गरे ।

यसैगरी सुलोचना महाकाव्य जुन पन्ध्र सर्गमा बाँधिएको छ । जसका प्रत्येक सर्गमा नौलोपना भेट्न सकिन्छ । पूर्वीय मान्यतानुसार नायक देवता अथवा उच्च वंशमा जन्मिएको क्षेत्रिय हुनुपर्छ भन्ने मान्यता छ । समाजको जुनसुकै तह वा तप्काको मान्छे पनि महाकाव्यको नायक हुनसक्छ । जसरी ‘चिसो चुह्लो’मा सन्ते दमाइलाई नायक बनाएर समले क्रान्तिकारी भएको दाबी गरे । त्यसैगरी देवकोटाले दमैलाई नायक नबनाएपनि सामान्य परिवारमा जन्मेको अनंगलाई नायक बनाएका छन् । अरु नायकोचित गुण भने अनंगमा थुप्रै रहेका छन् ।

संस्कृत साहित्यमा महाकवि कालिदासको ‘शाकुन्तला’ नाटकलाई देवकोटाले महाकाव्यमा ढालेका छन् । पहिला नेपाली गरिब जनजीवनको कथा सुनाउँदै हिँड्ने देवकोटा यसमा भने दुश्यन्तको चाकडी गर्न दरबार छिरेका छन् । पौराणिक कथा भएको हुनाले यस महाकाव्यमा हात हालेका हुनसक्छन् । तर यस महाकाव्यमा गौतमीलाई ऋषि कण्वको पत्नी बनाएर देवकोटाले ठूलो गल्ती गरेका छन् । वास्तवमा गौतमी कण्वकी बहिनी थिइन् ।

महाकवि देवकोटामा अङ्ग्रेजी रोमान्टिक कविहरुको प्रभाव प्रशस्त मात्रामा देख्न सकिन्छ । उन्नाइसौँ शताब्दिका मुख्य कविहरु थिए ः विलियम वर्डस्वर्थ,कलरिज,वाइरन,शेली र किट्स । रोमान्टिक कविहरू कृतिम वातावरणलाई छाडेर प्रकृतिको रम्य काखमा पुग्छन् । प्रकृतिबाट नै उनीहरु दया माया ममता र प्रेम पाउँछन् । स्वच्छन्दतावादी कविहरु खोलानाला,पहाड,बगैँचा, जङ्गल जता पनि पुुग्छन् । उनीहरु सीमिततामा बस्न रुचाउँदैनन् । देवकोटामा यी रोमान्टिक कविहरुको निकै गहिरो प्रभाव थियो । प्रभाव परे तापनि त्यसलाई आफ्नो वरपरको वातावरणमा ढाल्न सक्ने क्षमता उनमा थियो अनि त्यसलाई केवल अनुकरणको रुपमा मात्र नराखी आफ्नो भाषा,शैली र विषयवस्तुमा ल्याएर आफ्नो अनुकूलमा उतार्न सक्ने सामथ्र्य थियो । कपी गर्नुु र अरुबाट प्रभावित भई आफ्नो क्षेत्रानुुसार ढाल्नुमा निकै नै फरक छ । जुुन कुुरा सबैसँग थिएन । विचारको उत्तेजना,कल्पनाको भरपुर उडान,वास्तविकताबाट टाढा जानु,मानवीय शक्तिको सिमाना पार गरेर अनन्तमा व्यापक हुन खोज्नु नै देवकोटाको खास विशेषता थियो ।
आदिशिरोमणि लेखनाथ पौडेलको परिष्कारवादी धारालाई स्थानान्तरण गर्दै देवकोटाले लगातार पच्चीस वर्षसम्म स्वच्छन्दतावादी धारा (जसलाई भारतमा छायावाद र पश्चिममा रोमान्टिज्म भनेर बुझिन्छ ) मा कलम चलाइरहे । जीवनको उत्तराद्र्धतिर भने उनलाई क्यान्सरले च्याप्यो । उनले कृतिमा भगवानको गुणगाण गाएपनि वास्तवमा उनी अनिश्वरवादी थिए भनेर मोहन कोइरालाले समीक्षामा बताएका छन् । तर मर्ने बेलामा भने,“आखिर रहेछ श्रीकृष्ण एक”भन्दै ईश्वरको अस्तित्व स्वीकारेका थिए । पचास वर्षको उमेरमा उनले यो धरा छाडेर गए । अझै दश वर्ष बाँचेको भए उनले अजेय कृति रचना गर्न सक्थे होला ।

प्रतिक्रिया दिनुहोस्