Logo

कांग्रेसलाई सभामुखको आग्रह : अदालतमा प्रवेश गरेको विषयमा संसद अवरुद्ध नगरिदिनुस्



Spread the love

२६ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसले उठाएको विषय संसदबाट संबोधन गर्न नसकिने भन्दै संसद सुचारुका लागि सहयोग गर्न आग्रह गरेका छन् ।

आइतवार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए । बिहीवार र शुक्रवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेस सांसदहरूलाई बोल्न दिएपनि कुरा सुनिसकेको भन्दै आइतावार बोल्न दिएनन् ।

यसअघि दुई पटकसम्म संसद अवरुद्ध गर्दा आफूले कांग्रेसको कुरा गम्भीरतापूर्वक सुनेको भन्दै सभामुख सापकोटाले संवैधानिक आयोगको निर्णय र अदालत प्रवेश गरिसकेको विषयमा संसद अवरुद्ध गरिरहनुको औचित्य नहुने बताएका हुन् ।

सभामुख अग्नि सापकोटाले कांग्रेसका सांसदहरुलाई ‘तपाईंहरुले उठाएको विषय’ अदालतमा प्रवेश भइसकेको हुँदा सदन सुचारु गर्न दिन आग्रह गरेका थिए ।

कांग्रेस सांसदहरूले उभिएर विरोध कायम राखेपछि सभामुख सापकोटाले संसदको बैठक मंगलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन् । त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले सदन अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्