Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३३,१७८
संक्रमित
७,०२,३६८
निको भएका
१,४९,२१५
नेपालमा कोरोना भाइरस
संक्रमित
निको भएका

एउटा अकथा



–सुरेन्द्र खनाल

कल्पनाको विगत र आगतमा मस्त पाराले रमाउन सक्ने हाम्रो सर्वोत्कृष्ट मनलाई कहिलेकाहीँ यसरी डुलाउन सकिन्छ कि फेरि यसले त्यो कल्पनालाई वास्तविकताको संज्ञा दिएर मीठो सपनाबुन्दै जान सक्छ ।संसारभरलाई एकै पटक सेतो पगरी गुँथिदिन सक्छ । गन्तव्य राजमार्गमा छ तर मौसम राजमार्गमा कैद छैन । मौसमको कुरा छोडौँ, धेरै समय हाम्रै सर्वोत्कृष्ट मन पनि हाम्रो वसमा छैन ।

एउटा डाँडो अथवा त्यसलाई हजारौँ मध्येको एउटा डाँडो भनौँ । लगभग सबै डाँडो जंगलले भरिएको छ । बीचमा बाटो छ भनौँ, त्यो राजमार्ग हो अनि डाँडाको माथि पट्टी सानो गाउँ छ अनि मैले भनिसकेँ डाँडो लगभग सबै जंगलले भरेको छ। अनि तल फेँदमा जहाँ अर्को डाँडोसित हाम्रो डाँडोको भेट हुन्छ, त्यहाँखोला छ । म त्यो खोलालाई महान मान्छु किनभने डाँडाभरी जे छ त्यही बगेको छ खोलामा आज मात्र हैन त्यस्तो सदियौँ देखी नै।

बाटो राजमार्ग हो भनेँ अब त्यसलाई सिँगार्नु पर्छ । त्यसको लागि जुन हाम्रो वास्ताको विन्दु छ त्यो भन्दाअलि पर एउटा भट्टी पनि खोल्दिउँ अनि जुन वास्ताको बिन्दु छ त्योभन्दा थोरै तल एउटा सानो घर छ । गाउँभन्दा तल एक्लै छ घर ।यी सबै कल्पनामा एउटा एउटा फूल थप्दै जाने मेसो मात्रै हुन् ।

मौसमको कुरा गरौँ अब । मौसम उजाड बगैँचावाला छ अहिले । मौसम दुख दिनेवाला छ ।आँखा यता लगाउनुस् । आँखाले देख्न सक्ने दुरी सम्मै सेतै छ । उता लगाउनुस् उता पनि तेस्तै छ। मौसम उजाड छ। बाटो तल र माथीका सल्लाका रुखहरुभरी नै हिउँ परेको छ। बाटोमा खुट्टा जम्ने गरि नै हिउँ परेको छ । अनि राजमार्गबाट तल घर सम्मै घुमेर पुगेका साना साना खुड्किला छन् ती पनि पुरै हिउँले भरिएका छन् । सेतो बादलले आकाश छोपेको छ। यो उजाड समय हो। तर जब आकाशमा हामी उड्छौँ, हामीहरुले यो बाटोमुनिको घरलाई माथि गाउँबाट गुल्टिँदै गुल्टिँदै आएको एउटा सल्लाको च्यांग्रो जस्तै देख्छौँ ।

अब मेरा कुरा, म भोको छु। अब म धेरै बुढो छु । हिउँले र जाडोले मलाई उमेरको बुढ्याइँभन्दा धेरै पर पुर्याएको छ । म माथि आकाशमा धेरै बेर उड्न सक्दिन। म धेरै शिकार गर्न पनि सक्दिन । यहाँ ठूला रुख धेरै छैनन्न भएकाे खण्डमा धेरै टाढा सम्म देख्न पनि सक्दिन । यो मेरो जीवनको उत्तरार्ध हो । मौसम बिग्रिंदै गइरहेको छ, मेरा दिनगन्ती सुरु भइसकेका छन् । म कति दिनको भोको छु त्यो पनि म सम्झिन सक्दिन । भट्टीमा अलिअलि खाने कुरा पाइन्छ नभए म मरिसकेको हुने थिएँ।

गाउँं सानो छ । धेरै घर पनि छैनन् । धेरै मान्छेहरु पनि छैनन् । एउटा स्कुल छ त्यहाँ ८ सम्म पढाइ हुने । गाउँको सबैभन्दा ठूलो भवन नै स्कुलको हो । घर सबै दुई तले । खेती किसानी थियो पहिले यहाँको ’खाने मेसो’। अहिले त्यो पनि छैन। गाउँमा धेरै केटाकेटी छन् अनि धेरै बुढाबुढी छन्। बैँसका सबै अन्तै छन् गाउँमा छैनन् । अझै पनिआक्कलझुक्कल भेँडा कराएको आवाज गाउँमा सुनिन्छ । जाडो धेरै छ अहिले। दिउँसो कहिलेकाँही घाम लाग्छ नभएदिनभरी नै घरमै बिताउँछन् मान्छेहरु । अनि साँझ परेपछि धेरै बुढाहरु भट्टीतिर झर्छन् । त्यो नामुद भट्टी हो। बाटो टाढा जान्छ ।टाढा सम्मकै मान्छेहरुले ज्यान तताउँछन् ।घर घरमा रक्सीपहिले धेरै बन्थ्यो । आजभोलि त्यति धेरै बन्दैन । बुढाहरु ज्यान तताउँदा घरमा बुढीहरु खाना बनाउँदै आगो ताप्छन् । केटाकेटीहरु गृहकार्य गर्छन् अनि आगो ताप्छन् अनि सुत्छन् उठेर फेरि स्कुल जान्छन् । खासै नौलो केही छैन गाउँमा ।

अब बाटो मुनीको घरको कुरा । घर दुईतले छ ।टीनले छाएको छ, ढुंगाको गारो छ ।अगाडि सानो बगैँचाको लागि छुट्याइएको जग्गा छ । त्यहाँ केही छैन । सानो आँगन छ । आँगनको छेउँमा फेरि दुईटा साना साना सल्लाकै रुख छन् । घरको छेउँमा एउटा शौचालय छ । अनि घरको उपल्लो तलामा तलमाथि दुबै तिर झ्याल छन् । दुबै झ्याल बन्द छन् ।

माथिको झ्यालबाट माथि गाउँ र स्कुल दुबै देखिन्छ भने तलकोबाट खोला सम्मै देखिन्छ । खोला जमेको छ आजभोलि त्यसैले शान्त छ । घरमा दुईजना बस्छन्। एउटी वयस्कआमा र उनको पाँच वर्षको छोरो । यो एउटा परिवार हो ।दुई जनाको लागि यो सानो घर पर्याप्त छ ।

हरेक बिहान जस्तोअर्को एक बिहानको कुरा हो यो । उ उठ्छे उ गहिरो आत्म सन्तुष्टिको निद्राभन्दा पनि दिनमा ज्यानलाई र मनलाई आरामको लागि चाहिने निद्रा सुत्छे । अनि बिहान, सानो सानो आवाजले पनि बिउँझिन्छे । कुनै दिन उ उठ्नु भन्दा धेरै पहिले बिउँझिन्छे ।प्राय छोरा संगै उठ्छे उ अनि बिहानको काम उसको खाना बनाउने अनि खाने, छोरालाई खुवाउने। त्यसपछि छोरालाई स्कुल पुर्याउने । छोरा सानो छ, बुझ्दैन । पढ् भन्दा पढ्छ, खान आइज भन्दा खान्छ अनि कहिले कहिले झगडा गर्छ ।

उ बिहान उठेर खाना बनाउन सुरु गर्छे । खाना पाक्दै गर्दा छोरा संगै छेउँमा बसेर गृहकार्य गर्छ । उ कहिले खाना हेर्छे कहिले छोराले लेखेको हेर्छे । धेरै पढाइ उसको पनि छैन । तर मैले बुझेको उ आफ्नो समयको मेहेनती मान्छे हो ।

खाना पाक्छ छोराले झगडा गर्दै खाना खान्छ । उसलाई छोरासंगै अलिअलिआफू पनि खान्छे । अनि स्कुल ड्रेस लगाएर नास्ता हाल्देपछि स्कुल जान तयार हुन्छ । बाहिर हिँड्न गाह्रो छ । उसले बोकेरै छोरालाई स्कुल पुर्याइदिन्छे । त्यो सधैंको कुरा हैन। गाउँको बिचमै छ स्कुल । जाँदा धेरै मान्छेसित उसको कुराकानी हुँदैन । कुरा भए पनि उसलाई सधैं कुरा सकाउन नै हतार हुन्छ ।अँ हामीले नगरेको कुरा ( उ गाउँको नयाँ मान्छे हो । उसको घर गाउँको सबैभन्दा नयाँ घर हो । आएको एक वर्ष पुरै भएको पनि छैन । उ गाउँमा पुरै झिम्मेकी पनि छैन ।अनि छिट्टै मान्छेसित घुलमिल हुने स्वभावकी मान्छे पनि हैन ।

घर पुगेर उ माथिकै तलामा जान्छे । बिस्तारामा बसेर एकछिन तल खोलातिर हेरेर टोलाउँछे । जीवन सिधा कहिले पनि भएन उसको । एकैछिन मा त्यो सोँच्न छाड्छे । अनि अर्को तिरको झ्याल नेर आएर टेबलमा टाउको अड्याएर बाहिर हेर्दै बस्छे । यो बाटो, यो घुमेको बाटो, टाढा टाढा सम्म पुग्छ तर कहिँकतै कहिलेकाहीँ बाटो आफैँ हराउँछ कि?

छोरालाई स्कुल छाडेपछि उसको मनमा एकछिन के गरुँकसो गरुँ हुन्छ । उ रेडियोको कान उ बटार्छे । उक्त रेडियो उसको बाउले दाइजोमा दिएकाथिए । फिलिप कम्पनीको रेडियो विगत दश वर्षदेखि बजिरहेको थियो ।
रेडियोमा गीत गुन्जिन थाल्छ । उ मन्त्रमुग्धभएर सुन्न थाल्छे ।

नोटहरुको धारा प्रवाह भइरहन्छ । समय समयमा ती नोटको तालले आफ्नो आकार फेर्छन् । समय समयमा तिनले तालै परिवर्तन गर्छन् । त्यो बजाउनेको हातको कुरा हो, गडेर सुन्नेले बिरलै थाह पाउँछे, ती संगितका उकालीओराली हिँड्छे आफ्नै जीवन देखेर तर अहँ बजाउनुमा कति दुख छ त्यो सुन्नेलाई कहिले थाहा हुँदैन । सुन्नेले भावमा भुल्ने काम गर्ने हो, मेहेनतका कथामा टीठ मान्ने हैन । खाली एकोहोरो बगेको खोला जस्तै उसको मन बनाइदिन्छ, कहिले आफ्नै गहिराइको स्वादमा भएको जस्तो, कहिले आफ्नै रफ्तारको चरम शिखरमा रमाएको जस्तो ।

गिटारिस्टका हातका औँलाहरुको गति क्रमश बढ्दै जान्छ । त्यसले गर्दा धुन अर्को पटक फेरिन्छ । उसलाई त्यसले अट्ठ्याउँछ । सास फेर्नै गाह्रो बनाइदिन्छ । सन्तोष सबै चोरिदिन्छ । एकाग्रता भंग गराइदिन्छ ।उसलाई के गरौँ कसो गरौँ बनाइदिन्छ । उ रुन पनि सक्दिन, हाँस्न पनि सक्दिन । संगीतले उसको हृदयमा एकोहोरो रेटिरहन्छ ।

उ एक्लो तमासा बन्छे, एक्लो दर्शक बन्छे, एक्लो रमिते बन्छे र त्यसमाआनन्द लिन्छे अनि त्यसमै पिडा लिन्छे । गिटारिस्टलाई त्यसको कुनै मतलब हुँदैन । उ आफ्नो लयबाट तलमाथि हुँदैन । संगीतका नोटहरु जतिजति छिटो बन्दै जान्छन् त्यसरी नै उसको असन्तोषको बेग बढ्दै जान्छ र एउटा अवस्थामा पुर्याइदिन्छन् जहाँ उसलाई बाँचेको पनि हेक्का रहँदैन वा मरिसकेको । उ आफुलाई त्यहीं एउटा धुनमा सुम्पिदिन्छे र त्यसैको बाटोमा चलिरहन्छे ।

प्रतिक्रिया दिनुहोस्