Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३३,१७८
संक्रमित
७,०२,३६८
निको भएका
१,४९,२१५
नेपालमा कोरोना भाइरस
संक्रमित
निको भएका

एक पत्र सम्पादकलाई



शङ्कर लामिछाने

तपाईंले भन्नुभएको छ ’समाज’को विशेषांकको निमित्त म केही लेख दिऊँ( खासगरी पत्रकारिता र त्यो पनि ’समाज’कै समालोचना गरेर । करिब दुई घण्टादेखि समाजको मसँग भएको संग्रह पलटाइरहें र सोचिरहें क्यै त लेख्नै पर्याे। तपाईं एक मित्रको रूपमा मबाट चाहनुहुन्छ आफ्नु कला कौशलको समीक्षा ।

त, यो दुई घण्टा म सोचिरहें । र केही पनि सोच्न सकिनँ । कमसे कम छाप्ने लायक त केही पनि सोच्न सकिनँ । तपाईँ भन्नुहोला छाप्ने लायक छुट्टाउने अधिकार त सम्पादकमाथि पो छ । मेरो, यहाँनिर, छाप्ने लायक भन्ने शब्द प्रयोगको अर्थचाहिँ हो– त्यस्तो विषय, जो मानिसले पढ्न मन पराउँछ । अब तपाईंकै पत्रिका लिऊँ न । मृत्यु, दुर्घटना, असाधारण कष्ट, पीडा इत्यादि नै त हुन्, जसले त्यसमा प्रमुखता पाएका छन् । किन अर्काको कष्ट, दुर्घटना र मृत्युलाई मानिस पढ्न मन पराउँछ ? (मन नपर्ने भए तपाईँको पत्रिका कहिले नै बन्द भैसक्थ्यो ।)

म आजकल अनौठा पुस्तकहरू पढिरहेछु । स्टिफन ज्वाइनको ’द वर्ल्ड अफ यस्टरडे’, अल्वेयर कामूको ’मिथ अफ सिसिफस’, र चित्तरञ्जन नेपालीको ’भीमसेन थापा र तत्कालीन नेपाल’ । यसैबाट तपाईं बुझनुहुनेछ म अलि अध्ययन गर्न खोजिरहेछु मानिसको मृत्युपट्टिको भावना ।

मृत्युको अध्ययन गर्ना्निमित्त आरम्भ गर्ने बिन्दु हो जीवन । कारण मृत्युको जन्म जीवनको जन्म साथै भएको हुन्छ । त्यो क्षण जब म जन्में, त्यही क्षण नै मेरो मृत्युको प्रथम क्षण, प्रथम पाइलो थियो, होइन त ? त आज जीवनकै कुरा गरौं र मृत्युलाई चिन्ने प्रयास गरौं ।

म अहिले पसलमा बसिरहेछु । पानी परिरहेछ झमझम । भर्खरै राजदूतहरू र मन्त्रीहरूको मोटरको ताँती फर्क्यो( नरप्रताप थापाको शोकसभा थियो रे रञ्जनामा !

सडक पारिपट्टि एउटा माग्ने जस्तो मानिस गणेशथानको देवलको चौतारामा बसेर लँगौटीमा अलमलिएको जुम्रा मारिरहेछ । एउटा मानिस, म त्यसलाई चिन्दछु, तर नाम जान्दिनँ, जो दिनभरि त खसीबोका बेची हिँड्दछ, अहिले भजन अलाप्दै गणेशजीकहाँ गइरहेछ, हातमा उसको थाली छ, चन्दन अक्षता र फूल अबीरले भरेको । एउटा कुकुर आङ चिलाएकोले पेटीको भित्तामा आङ घस्रिरहेछ । एउटी कैली गाई गइन् । कसैले उनको निधारमा पूजा गरेको छ । केटीहरू छाता ओढेर किताब च्यापी गइरहेछन् । एउटा केटो बर्साती ओढी स्कुल जान बस पर्खिरहेछ । एउटा मानिस पिउनबुकमा खातका खात चिठ्ठी च्यापेर दोबाटोमा कता नै जाउँ( पहिलेको भावमा अल्मलिरहेछ ।

र, मलाई एउटा लेख लेख्नु छ । यस्तो लेख, जसले नेपाली साहित्यको उत्थान गरोस् । यस्तो लेख, जसले मणि दाजुको ’समाज’को स्तर नगिराओस् । यस्तो लेख, जुन पढ्दा नेपाली जनता रमाऊन् । तर मणि दाजु, म अल्मलिरहेछु । मेरो मन स्थिर छैन । सबै कुरा जो आँखाअगाडि घटिरहेछन्, तिनलाई म हेरिरहेछु र बुझ्न नसक्ने छु ।

म बुझिदनँ ( त्यो जुम्रा जन्म्यो नै किन, जब उसलाई लंगौटीकै कापमा दुईवटा औंलाका नङले पिसिएर मर्नु थियो ? त्यो मानिस किन गणेशको पूजा पनि गर्दछ र खसीबोकाको ज्यान पनि लिन्छ ? त्यो कुकुर लूतो भएर मर्ने नै तर्जुमामा छ भने किन भुकी टोपल्छ ? मानिस गाईलाई पूजा गर्छ भने उसको बाछीको भाग खोसेर किन दूध खान्छ फेरि ? त्यो तरुनी केटी, जो अग्रवालको ’थ्योरी अफ इकोनोमिक्स’ बोकेर कलेज जाँदैछे, किन त्यो पढ्छे, जब उसलाई विधवा हुनुपर्ने छ, शायद पोइल जानुपर्ने छ, शायद वेश्यावृत्ति अपनाउनुपर्ने छ– शायद । त्यो बच्चा केको आशामा अरूले छापेका विश्वासहरू बोकेर स्कुल जाँदै छ, जब एकदिन उसलाई रानीपोखरीमा डुब्नु नै छ, व्यर्थ बनी, बेकार बनी दुई–तीन छोरा छोरीको पिता र एउटी स्वास्नीको पोइ र कैयन् अरू केटाहरूको प्रतिस्पर्धी बनेर ? त्यो पिउन किन ओसारिरहेछ खामबन्दी चिठ्ठीहरू, जब उसलाई थाहा छैन, पत्रमा के छन् ? कसैको खोसुवापुर्जी, कसैको विवाहको निमन्त्रणा, कसैको मृत्युको समाचार ?

बुझ्नु भो मणि दाजु ! यी जम्मै चरित्र तपाईँका पत्रिकामा स्थान पाउन सक्ने पात्रका हुन् । ती आज भाद्र ३, २०१९ साल बिहान १० बजे मेरा निमित्त बनेका हेडलाइनहरू हुन् । यिनको महत्व, तर, तपाईँलाई छैन, कारण ती अझै जीवनमा छन्, अहिले केही गरी ती भाक्लाक भुक्लुक्क सडकमा मरून्, या रानीपोखरीमा हाम्फालून्, या मोटरले किल्चिऊन्, तपाईं भातको गाँस छाडेर प्रेसतिर भाग्नुहुनेछ । तपाईँको कलम कागजमा दौडिनेछ, तपाईँको कम्पोजिटरले औलामा चाल्नेछ, तपाईँको ट्रेडलले काम पाउनेछ, पत्रिका छापिनेछ, र बिक्नेछ पाँच पैसामा ।

ढ्याक्क ।

ढ्याक्क ।

ढ्याक्क ।

ढ्याक्क ।

प्रत्येकपल्ट एक इम्प्रेशन र छः मृत्यु । यो यत्तिका जनाको जुम्रा, पुजारी, कुकुर, केटी, केटा र पिउन ६ जनाको जीवनको मूल्य सिर्फ पाँच पैसामा बिक्नेछ ? यिनको मृत्युको समाचार बोकेर अखबारका पानाहरू छापिनेछन्, सड्नेछन्, बिलाउनेछन्, खतम हुनेछन् ।

मणि दाजु ! के कहिले यस्तो हुन सक्दैन, तपाईं अखबारमा जन्मको मात्र खबर छाप्नुहोस् ? के यस्तो हुन सक्दैन, तपाई भीमसेन थापाको आत्महत्याको कारण छाप्न सक्नुहोस् ? के यस्तो हुँदैन, साँढे र वर्षाको सम्पादकीय त्यागेर तपाईँ आफ्नो सच्चा कथन भन्न सक्नुहोस् ? के यस्तो हुन सक्दैन, कहिले आफैंलाई चिरेर आफ्नु महत्व छाप्नुहोस् ?

तपाईं आज सोच्नुहुँदो हो ( पत्रिका चलाएर तपाईं देश र जनताको सेवा गर्दै हुनुहुन्छ । तपाईं भन्ठान्नु हुँदो हो, नेपाली इतिहासमा तपाईंको स्थान छ, सदा रहिरहनेछ, तपाईंको देन पत्रकारिता जगतले कहिले पनि भूल्न सक्नैछैन होला । मूर्ख दाजु बेकार हो ! तपाईंको नाम अखबारले त्यहाँ छापेको छ, सधैं जहाँ समाचारलाई एक कालो धर्काले तपाईंबाट सीमारेखा छुट्ट्याएको हुन्छ । थाहा छ तपाईंलाई, तपाईँको अखबारले रोजै कति कसिंगर र गुहु झयालबाट चोकमा मिल्काउँछ ? थाहा छ तपाईंलाई ? थाहा छ तपाईँलाईं ? थाहा छ तपाईंलाई ? तपाईंलाई केही थाहा छैन । तपाईंलाई किन साँढेमाथि सम्पादकीय लेखें भन्ने पनि थाहा छैन ?

तपाईंलाई किन भीमसेन थापामाथि सम्पादकीय लेखिनँ भन्ने पनि थाहा छैन ? तपाईंलाई किन सम्पादकीय लेख्छु भन्ने थाहा छैन ? तपाईंलाई किन सम्पादकीय लेख्दिनँ भन्ने पनि थाहा छैन ?

अझ, मणि दाजु, तपाईं किन सम्पादक हुनुभयो, त्यो पनि थाहा छैन तपाईंलाई । तपाईं सम्पादक नभए के हुनुहुन्थ्यो, त्यो पनि थाहा छैन तपाईँलाई ।

तपाईंको पत्रिका त ऊ त्यो माग्नेको लँगौटी हो, जसका कापमा रोज ट्रेडलका औँलाले जुम्रा मारिरहेछन् ।

म शायद त्यो लुत्याहा कुकुर हुँ, तपाईं शायद निधारमा टीका लाएको त्यो गाई हो । अथवा तपाईँ कुकुर हो, म गाई हुँ अथवा म जुम्रा, तपाईँ नङ्ग्रा अथवा तपाईँ पुजारी, म बोका अथवा तपाईँ पिउन म चिट्ठी, अथवा तपाईँ केटी म केटा । तपाईँ जे पनि हो, म जे पनि हुँ ।

तपाईं र म जन्मिनुअघि यसो सोचिहेर्नुस् त, कत्ति आशा, विश्वास र हिम्मत संसारमा जन्म्यो । खै त्यो आज, खै ? तपाईं र म जन्मिनुअघि कति शहीद र कति गद्दार जन्मे, खै ती आज, खै ? अमरसिंहबारेको सत्य के ? इतिहासको तथ्य खै ? सत्य खै ? सत्यको सत्य खै ? आज तपाईं भन्न सक्नुहुन्छ, इतिहासमा कहाँनिर कल्पना शुरु भएको छ, कहाँ वास्तविकता हराएको छ ? भन्न सक्नुहुन्छ, तपाईंको अखबारमा छापिएका आत्महत्याका खबरको वास्तविकता के थियो ? किन रामेचा या कृष्णचा या कखचाले आफूलाई मार्नुअघि छोराछोरीलाई र स्वास्नीलाई मारÞ्यो ? भन्न सक्नुहुन्छ के त्यस्तो कारण थियो जसले ती मरे ?

मणि दाजु, बेकार छ । हामी सदा नै आफूलाई छोप्न खोज्छौं । हामी अर्काको मृत्युको समाचारबाट आफ्नु मृत्युको समाचार छोप्न खोज्छौं । हामी अर्काको विश्वास पढेर आफ्नो विश्वास छोप्न खोज्छौं । हामी आफ्नो मनको सत्य कुरा श्रद्धाले छोप्न खोज्छौं । म जो ईश्वरको कल्पना गर्छु, त्यसको पूजा गर्छु, म आफ्नु औंलामा लागेको बोकाको रगतको रंगलाई अबीरले छोप्न खोज्छु । तपाईं जो साँढेमाथि सम्पादकीय लेख्नुहुन्छ, आफू गाई भएको छोप्न खोज्नुहुन्छ । मणिराज उपाध्यायलाई सम्पादक मणिराज उपाध्यायले छोपिरहेछ । शंकर लामिछानेलाई पतिपिता, व्यापारी शंकर लामिछानेले छोपिरहेछ । तपाईँ आत्महत्या गर्दै हुनुहुन्छ, म आत्महत्या गर्दैछु । तपाईँ र म नमरिकन के खबर लायकका हुँदैनौं ? हाम्रो आत्महत्याको प्रोसेस के यत्ति महत्वहीन छ ? हामी स्वयं त्यसबारे सोच्न, लेख्न पनि चाहन्नौं ? यो सोचाइलाई छोप्नु नै हाम्रो जीवन हो त ?

मणि दाजु, यस मनोस्थितिमा म कसरी लेख लेख्न सक्छु ? कसरी म साहित्य सिर्जना गर्न सक्छु, कसरी म नेपाल आमाको सेवा गर्न सक्छु ? कसरी म राष्ट्रियताको नारा लगाउन सक्छु– जब मेरो नारा, मेरो भविष्य, मेरो भाग्य, मेरो विश्वास, मेरो खोसुवा पुर्जी, मेरो प्रमोशन, मेरो निमन्त्रण, मेरो मृत्यु खामबन्दी छ ? जब एउटा पिउनले त्यसलाई ओसारिरहेछ, एउटा यस्तो पिउन, जसलाई खामबन्दी चिठ्ठीको मजबुन थाहा छैन ।

भो मणि दाजू, विशेषांक निकाल्ने आवश्यकता नै के छ र? तपाईंले विशेषांक निकाल्ने अठोट नै गर्नुभएको छ भने म के भन्न सक्छु र यत्ति हो ।यसपटक म लेख दिन असमर्थ छु । शायद अर्को पटक तपाईंको पत्रिकाको हेडलाइनमा आउनबाट उम्किएँ भने शायद अर्को वर्ष ।

कृपया पत्र पढेर तुरुन्तै च्यातिदिनुहोला ।

तपाईंको भाइ

शंकर लामिछाने

प्रतिक्रिया दिनुहोस्