Logo

टि ट्वान्टी सिरिज: पाहुना टोलि अष्ट्रेलियासँग दक्षिण अफ्रिकाको लज्जास्पद हार



Spread the love

एजेन्सी । दक्षिण अफ्रिकासँगको तीन खेलको टि ट्वान्टी सिरिज पाहुना टोली अष्ट्रेलियाले २–१ ले हात पारेको छ । बुधबार राती घरेलु टोली दक्षिण अफ्रिकालाई ९७ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले सिरिज हात पारेको हो ।

जितका लागि १ सय ९४ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १५ दशमलव ३ ओभरमा ९६ रनमा अल आउट भयो । उसका लागी रस्सी भान डर दुसेनले २४, हेनरिक क्वालासेन २२ र डेविड मिलर १५ रनमा आउट भए । दक्षिण अफ्रिकाका ७ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले २ दशमलव ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै स्पिनर एस्टन एगरले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । एडम जम्पा २, प्याट कमिन्स र मिचेल मार्शको नाममा सामना १-१ विकेट रह्यो ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ९३ रन बनाएको थियो । ओपनर डेविड वार्नरले ३७ बलको सामना गर्दै ५ चौका र २ छक्का सहित ५७ रन जोड्दा कप्तान आरोन फिन्चले ५५ रनको योगदान दिए । स्टिभ स्मिथ १५ बलमा २ छक्का सहित ३० रनमा अविजित रहे । दक्षिण अफ्रिकाका कागिसो रबाडा, एनरिच नोर्टिज, लुन्गी निग्डी ड्वेन प्रिटियोरस र तरवेज शम्सीले १–१ विकेट लिए ।

दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच थप तीन ओडीआई सिरिज पनि हुने छ । पहिलो खेल शनिबार बोलान्ड पार्कमा हुने छ ।

प्रतिक्रिया दिनुहोस्