Logo

फाल्गुन शुक्ल पूर्णिमा अर्थात् रङहरुको पर्व, यस्ता छन् होलि पर्वको धार्मिक मान्यता !



Spread the love

होली पर्व अर्थात रङहरुको पर्व, खानपान भन्दा पनि रङसँगै खेलेर आपसी माया–प्रेम, सदभाव अभिवृद्धि गर्ने अनौठो पर्व अनि वसन्त ऋतुलाई स्वागत गर्ने पर्वको रुपमा चिनिन्छ । होलीको पर्व फाल्गुन शुक्ल पूर्णिमाको दिन मनाउने गरिन्छ । भनिन्छ, हिन्दू सम्प्रदायको सबैभन्दा पुरानो चार्ड हो ।

होली पर्व शुरुवातको ऐतिहासिकता सम्बन्धमा अनेकन मिथक तथा जनश्रुतिहरु पाइन्छन् । हिन्दु धार्मिक कथनका अनुसार कृष्ण ज्यादै चञ्चले र उट्पट्याङ स्वाभवका थिए । युवा अवस्थामा अनेक थरी उट्पट्याङ गर्ने क्रममा एक दिन कृष्णले राधाको सुन्दर, सफा मुहारमा झुक्याएर रङ दलिदिएछन् । भनिन्छ, कृष्णले उतिबेला पलासको फूलबाट रङ बनाएर प्रयोग गरेका थिए रे । राधाको अनुहार भरी रङ लगाउँदा राधा–कृष्णको भागदौड भएछ । उक्त क्रियाकलाप भइरहँदा धेरैले रमाइलो मानेछन् । त्यसैले माया प्रेमको प्रतिकको रुपमा यो पर्व मनाउने परम्परा बसेको भन्ने जनविश्वास रहेको छ।

अर्को कथन अनुसार महिसासुर राजा हिरण्यकशीपुले आफूलाई सर्वशक्तिमान ठान्दथे । हिरण्यकसीपुले व्रह्माबाट यस्तो अद्भूत वरदान पाएका थिए । तर उनकै छोरा प्रह्लाद भने विष्णुका भक्त थिए । केही गरी प्रह्लादलाई आफ्नो वसमा ल्याउन नसकेको झोंकमा उनलाई मार्नको निम्ति अग्नी प्रतिरोधक क्षमता वरदान पाएकी आफ्नी बहिनी होलीकालाई आदेश दिएछन् । होलिका प्रह्लादलाई काखमा बोकेर दनदनी बलेको आगोको भुंग्रोमा हाम फालिन् । क्षणभरमै होलीका आगोमा भष्मा भइन् तर प्रह्लाद सकुशल आगोबाट बाहिरीएछन् । सोहीबेला नरसिंह अवतार लिएर विष्णु प्रकट भइ हिरण्यकसीपुलाई पनि मारेछन् । होलीकाले आफूले पाएको अग्नीप्रतिरोधक शक्तिको वरदानलाई दुरुपयोग गरेको हुनाले जलेर मर्नु परेको विश्वास गरीन्छ । यसप्रकार, असत्य माथि सत्यको विजय भएको यही घट्नाको स्मृतिमा उल्लाख मनाउन “सत्य डग्दैन असत्य टिक्दैन” भन्ने मान्यताका साथ यो पर्व शुरुवात भएको भन्ने कथन पनि व्यप्त रहेको छ ।

होली पर्वको आरम्भ रङको माध्यमबाट आपसी माया–प्रेम बढाउने पर्वको रुपमा स्थापित भएको देखिन्छ । यो पर्वको धार्मिक, सामाजिक, साँस्कृतिक एवम् मनोवैज्ञानिक महत्व त छँदै नै छ, साथै यो पर्व प्रकृतिसँग समेत समाहित छ । वसन्त ऋतुसँग साक्षात्कार वा स्वागत गर्ने पर्वको रुपमा मनाइन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर— विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूर्णिमाको राति उक्त चीर (लिङ्गो) लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्