Logo

गज्जबको ‘दोचा’ !!!



Spread the love

नेपाली साहित्य फाँटका मस्तमौला आउटसाइडर हुन्, कुमार नगरकोटी । लेखक कम आफुलाई फिक्सन डिजाइनर भन्न रुचाउने नगरकोटीको शैली-शिल्प, परम्परागत नेपाली साहित्य लेखनी भन्दा भिन्दै अन्दाजको पाउन सकिन्छ । प्रत्येक शब्द, पंक्ति र अनुच्छेदहरुमा केही नयाँ स्वाद, र कलात्मक शैलीको प्रयोग गर्नमा माहिर नगरकोटी, पुस्तकै पिच्छे हरेक पल्ट केही बिशेष भएर देखिने गरेका छन् ।

केही शाब्दिक कठिनाइ, केही भाषागत जटिलता त केही अन्तर्राष्ट्रिय कला-साहित्यको उल्लेख्य प्रयोगका कारण, लगातार समर्थन र विरोधको समानान्तर चेपुवामा पर्ने गरेका नगरकोटी, नेपाली साहित्यमा लगालग अनेकन प्रयोग र स्टन्टबाजी गरिरहेका भेटिन्छन् । यथास्थितिवादी कतिपयले उनका कृतिलाई नेपालीमा रुपान्तरण गरिनुपर्छ भनेर समेत वोकले तापनी, उनको ब्रान्डेड शैली निरन्तर जारी छ ।

उनै नगरकोटीको पछिल्लो पुस्तक हो, ‘दोचा’ । संस्मरण पुस्तक भनिए तापनी, ‘दोचा’ बिल्कुल गज्जबको अन्दाजमा कुँदिएको छ । तुलनात्मक रुपमा अघिल्ला पुस्तकहरुको दाँजोमा, ‘दोचा’ केही सरल रुपमा समेत प्रस्तुत भएको छ ।

बाल्यकालमा खुबै प्रभाव जमाएको हिमाली दोचा, लामो जिद्दी पश्चात एकदिन फुच्चे नगरकोटीको हातमा पर्छ । उसकी मीत-आमाले आफै बुनेर ल्याइ दिएकी हुन्छिन्, उक्त दोचा । फुच्चे नगरकोटीका बालसुलभ समग्र यादहरु तिनै दोचाहरुमा लुक्दै-छिप्दै जाँदा हुन्छन् ।

तर, दुर्भाग्यवश ! काठमाडौं फर्किने क्रममा एकदिन, दोचा सहितको सुटकेस भैरहवाको एउटा लजमै छुट्न पुग्छ । यसै प्रसङ्गका बिच सुरु भएको नोष्टाल्जिया, नगरकोटी र नगरकोटिएन जिन्दगीका तमाम आयामहरुमा खुलेयाम प्रस्तुत हुन थाल्छ ।

केही रुमानी कथा, केही पर्पल यादहरु । केही ग्रे नोष्टाल्जिया त केही पोएम रिसाइटेसनहरु । केही फगत जन्मका कुरा, केही फिक्सनल मृत्युका कुराहरु । केही संयोगान्त भेटका कुरा त केही वियोगान्त घाटका कुराहरु । समग्रमा, केही पाटनका कुरा, केही काठमाडौका कुराहरु । सोलडोलमा, ‘दोचा’ यी-यस्तै घुम्तीहरुमा सुसेल्दै गरेको भेटिन्छ ।

जेहोस ! नेपाली साहित्यमा केही नवीनताको तलाशमा रहेका पाठकहरुका लागि, ‘दोचा’ एकदमै सार्थक हुन सक्छ । नगरकोटीका अघिल्ला कृतिहरु पढ्न भ्याइ सकेकाहरुका लागि त झनै, यो पुस्तक अझ गज्जबको खुराक बन्ने छ ।

विशेषगरी, कथा बुनाइको सुन्दर शैली, नगरकोटीको टुच्च-ङिच्च कथा बाचन, पुस्तकको कलात्मक प्रस्तुती र, केही रहरलाग्दा हिन्दी-नेपाली गीत-कविताको रसपानका लागि पनि पुस्तक पठनीय हुन सक्छ ।

बिदाको लामो तम्तमाइलो फुर्सदमा हुनुहुन्छ र कुनै किताबको तृष्णा लगातार जाग्दो छ भने, नगरकोटीको उल्लेखित संस्मरण ‘दोचा’ यहाँहरुका लागि गज्जबको खुराक बन्न सक्छ ।
०००
०००
दोचा
लेखक : कुमार नगरकोटी
विधा : संस्मरण
प्रकाशक : बुकहिल
पृष्ठ संख्या : २६६
मूल्य : रु ५००/-

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्