Logo

‘नेलकटर’ : अद्भुत कथाहरुको संग्रह !!!



Spread the love

कुनै एक साहित्यिक प्रसंगको क्रममा अजमल कमाल लेख्दछन्,”उदय प्रकाश जस्तो अद्भुत कथाकार बाहेक, पाकिस्तानमा हिन्दुस्तानका सबै चिज छन् ।”

ब्रान्डेड शिल्प-शैली सहित यथार्थ र कल्पनाको सुन्दर समिश्रण गर्नमा माहिर उदय प्रकाश, वास्तवमै समकालीन भारतीय साहित्यका बेजोड स्ट्राइकर हुन् । बदलिँदो समय सँगै बदलिएको भारतीय जिन्दगीको कथा, शब्दहरुको भकुण्डो मार्फत उनी लगातार अन्तर्राष्ट्रिय गोलपोष्ट भित्र स्ट्राइक गरिरहेका छन् ।

भारतीय साहित्यको फाँटमा उदय प्रकाश एक कुशल कवि, पत्रकार, अनुवादक तथा कथाकारको रुपमा सुपरिचित छन् । कविता र आख्यानका क्षेत्रमा थुप्रै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार पाउन सफल उनी, विभिन्न पत्रपत्रिका तथा अखबारका लागि निरन्तर लेख्ने गरेका छन् ।

साहित्यिक लेखनलाई एक लामो प्रगतिशील अभियानको स्वरुपमा लिइरहेका उनी आफुलाई भने एक “स्पिरिचुअल बुद्दिस्ट एवम् गान्धियन मार्क्सिस्ट”को रूपमा परिभाषित गर्दै आएका छन् ।

उनै उदय प्रकाशका केही चर्चित फुटकर कथाहरुलाई नेपालीमा रुपान्तरण गर्दै, ‘नेलकटर’ कथासंग्रहको रुपमा ल्याएका हुन्, लेखक तथा अनुवादक यज्ञशले । यस अघि उनले उदय प्रकाश कै लघु उपन्यास ‘मोहनदास’लाई समेत नेपालीमा अनुवाद गरेका थिए ।

‘नेलकटर’ कथासंग्रह भित्र नेलकटर, अपराध, तिरिछ, अरेबा-परेबा, र दिल्लीका पर्खाल गरि जम्मा ५ कथाहरु समावेश गरिएका छन् ।

उनका हरेक कथाहरु गहकिलो संवेदना र डरलाग्दो कल्पनाशीलताले छचल्किएका भेटिन्छन् । पुरानो शैली भन्दा बिल्कुल पृथक एवम् अद्भुत ढंगबाट कुँदिएका उनका कथाहरु समग्र पाठकका लागि बहुतै गज्जबका लाग्ने छन् ।

पात्र र शैली देखि कथाको लोकेसन र सेटिङ सम्मका परिदृश्यहरुका कारण पनि, नेपाली साहित्यका पाठकका लागि ‘नेलकटर’ भित्रका कथाहरु अझ बढी नौला, आकर्षक र जादुमयी लाग्न सक्छन् ।

केही छोटा, चोटिला एवम् अद्भुत सौन्दर्यका कथाहरुको स्वाद टुच्च-टुच्च लिदै, फुर्सदिलो बिदाको सदुपयोग गर्ने पक्षमा हुनुहुन्छ भने, यहाँहरुका लागि उदय प्रकाशको ‘नेलकटर’ कथासंग्रह गज्जबको प्याकेज बन्न सक्दछ ।
०००
०००
नेलकटर
लेखक : उदय प्रकाश
अनुवादक : यज्ञश
प्रकाशक : फाइन प्रिन्ट
पृष्ठ : १२५
मूल्य : रु.२२०/-
०००
०००

'प्रमोद' सल्लेरी खबरका लागि कला-साहित्य-विविधमा कलम चलाउँछन् ।

प्रतिक्रिया दिनुहोस्