Logo

प्रदेश नं ५ समाचार : भारतीय सीमा नाकामा कडाइ



Spread the love

२५ चैत, नेपालगञ्ज – कोराना भाइरसको जोखिम बढेसँगै भारतसँग सीमा जोडिएका नाकामा सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ । बाँकेका साना, ठूला सबै नाकामा सशस्त्र प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा पारिएको हो ।


भारतको बहराइच र श्रावस्ती जिल्लाबाट लुकीछिपी मानिसको आवागमन भइरहेकाले मुख्य सीमानाकासहित सीमावर्ती क्षेत्रमा थप १२० जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रहरी उपरीक्षक दीपक अधिकारीले बताए ।
उनले लकडाउनलाई पूर्णरुपमा पालनाका लागि अब भारतबाट एक जना पनि छिर्न नदिइने जनाए ।


सीमानाकामा निगरानी बढाउन बाँकेका सबै ६ वटै बोर्डर आउट पोष्ट (बिओपी) मा थप प्रहरी पठाइएको छ । जिल्लाको नरैनापुर गाउँपालिका अन्तर्गतका नरैनापुर, गङ्गापुर, कटकुइँया बिओपी, डुडुवा गाउँपालिकाको कालाबञ्जार बिओपी, नेपालगञ्जको जयसपुर बिओपी र जानकी गाउँपालिकाको बढैया बिओपीसहित खडैँचा र बढैया बिओपीको पानीट्याङ्कीस्थित फरवार्ड बेश क्याम्पमा थप सशस्त्र प्रहरी पठाइएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।


उनका अनुसार, बिओपीमा सशस्त्र प्रहरीको संख्या धेरै भएपछि अब एक एक किलोमिटरमा प्रहरी बसेर लुकीछिपी आउने मानिसलाई भारतमै फर्काइने छ ।

प्रतिक्रिया दिनुहोस्