Logo

­‘अब चुलो बल्ने भो’



Spread the love

२९ चैत, पोखरा – पोखरामा महानगरपालिका­ ३१ बेगनास तालका विपन्न परिवारका सदस्य राहत बाँड्ने थाहा पाएपछि एक घण्टा अगाडि नै आएर लाइनमा बसिरहेका थिए । त्यही लाइनमा मुखमा पछ्यौरा बेरेर गौशाला विक पनि पालो कुरिरहेकी थिइन् । वडाले बेगनास युवा क्लबको प्राङ्गणमा राहत बाँड्ने व्यवस्था गरेको थियो ।

आफ्नो पालो आएपछि गौशाला राहत बुझ्न गइन् । राहत सामग्री लिएर आउँदै गर्दा उनको अनुहारमा केही खुशी देखिन्थ्यो । “आजसम्म त जसोतसो चुलो बलेको थियो, अब भोलिदेखि के खाने भन्ने चिन्ता थियो, राहत पाएपछि अब भोकै बस्नु परेन”, विकले भनिन् ।

गौशालाका श्रीमान्ले घर बनाउने काम गरेर चार जनाको परिवार पाल्दै आएका थिए । लकडाउनले काम गर्ने वातावरण नभएपछि परिवारमा छाक टार्न समस्या देखिँदै गएको विकले बताइन् । “अलिअलि कमाएको पनि यतिका दिन खाँदा सकियो । अब के खाने भन्ने चिन्ता थियो, केही दिनलाई राहत भयो ।”

त्यसैगरी राहतले तत्कालको समस्या समाधान गरेकामा राहत बुझ्न आएकी कविता पाठकले पनि खुशी व्यक्त गरिन् । “श्रीमान्ले गाडी चलाउनुहुन्छ तर अहिले काम भएन, केही दिनका लागि जोहो गरेको रासन सकिँदै जाँदा चिन्ता पनि थपिएको थियो, अब ढुक्क भयो ।”

वडा नं ३१ मा रहेका अतिविपन्न र दैनिक ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्दै आएका ४०७ परिवारलाई महानगरले राहत वितरण गरेको हो । उक्त वडाका अध्यक्ष कमल थापाले वडामा रहेका अतिविपन्न परिवारको छनोट गरेर राहत वितरण गरेको बताए । उनले शनिबार आठौँ क्लष्टरमा १२५ जनालाई राहत वितरण गरेको जानकारी दिए । यसअघि वडाले विभिन्न स्थानबाट लाभग्राही छनोट गरेर सात ठाउँमा राहत वितरण गरिसकेको छ ।

यता बेगनास बस्दै आएका रौतहटका सुनिल बैठाले राहतका लागि नाम टिपाए पनि आफ्नो नाम काटिएको र राहत नपाएको दुखेसो व्यक्त गरे । “म १६ वर्षदेखियता भाडामा बस्दै आएको छु, गाडीमा हिँड्ने गर्छु, तर मेरो नाम काटियो, राहतमा विभेद भयो, हामीले खानु पर्दैन ?” वडाध्यक्ष थापाले भने कसैको नाम नकाटिएको बताए । “हामीले विभिन्न सामाजिक अगुवासहित बसेको सर्वदलीय बैठकले ४०७ जनाको नाम छनोट गरेका हौँ, विपन्न परिवारका १२० जनापछि थपिएकाले उहाँहरु छुट्न पुग्नुभएको हो, छुटेकालाई एक÷दुई दिनमा राहतको व्यवस्थापन गर्नेछौँ ।” थापाले वडामा बाहिरबाट आएर मजदूरी गर्ने परिवार रहेको र लकडाउनले उनीहरुको दैनिकीमा प्रत्यक्ष प्रभाव पारेको बताउँदै थापाले भने, “राहतमा विपन्न परिवार कोही पनि छुट्नु हुन्न भन्ने हाम्रो मान्यता छ, वडाले कसैलाई काखा र कसैलाई पाखा गर्दैन ।”

राहतमा चामल, तेल, नून र दाल गेडागुडी बाँडेको उनले बताए । तीन जना परिवारलाई आधा र त्योभन्दा माथिको परिवारलाई एक बोरासहितको राहत उपलब्ध गराएको उनको भनाइ छ । सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दै गण्डकी प्रदेश सरकारले दैनिकरुपमा ज्यालादारी गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका निम्न आयस्रोत भएकालाई लकडाउनको अवधिभरिका लागि आवश्यक राहत प्याकेजको घोषणा गरेको छ । पोखरा महानगरपालिकाले साढे दुई करोड मूल्यको राहत कोष स्थापना गरेर महानगरका ३३ वटा वडामा राहत वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्