Logo

सबै संयन्त्र प्रयोग गरेर कोरोना रोकथाम गर्दैछौं: प्रमुख जिल्ला अधिकारी शर्मा



Spread the love

विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड १९ का कारण यति बेला विश्व नै त्रसित बनिरहेको छ । नेपालमा पनि कोरोना संक्रमित बिरामीहरु देखिन थालेपछि पछिल्लो समय नेपाली जनताहरु पनि त्रसित बनिरहेका छन् । नेपाल सरकारले कोरोनाबाट बच्न उच्च सर्तकता अपनाएको छ ।

यस्तैमा गुल्मीका स्थानीय तहले पनि कोरोनाबाट बच्न विभिन्न किसिमका कार्यहरू गर्दै आएका छन् । दुई नगरपालिका र दश गाउँपालिकासहित १२ वटा स्थानीय तह रहेको गुल्मी जिल्ला प्रदेश पाँचको पहाडी जिल्ला हो । देशभर कोरोना रोकथाम तथा नियन्त्रणको लागि विभिन्न कार्यहरू भइरहेको अबस्थामा गुल्मीमा पनि यहाँका स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय गुल्मीले विभिन्न कार्यहरु गरिरहेको छ भने केही योजनाहरु अगाडि सारेको पनि छ ।

जिल्ला प्रशासन कार्यालयस्थानीय तहले कोरोना भाइरसको रोकथाम लिएर के-कस्ता कामहरु गरिरहेका छन् ?  सल्लेरी खबरले देशैभरीमा यी बिषयमा सवाल जवाफ गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले कोरोना भाइरस रोकथाम गर्न के कस्ता कार्यहरू गर्दै छ त ? यसै बिषयमा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मासँग सल्लेरी खबरकर्मी डि.बी. खड्काले गरेको यो कुराकानी ।

विश्वजगत नै त्रसित हुने गरी महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणको लागि गुल्मी जिल्लाले के कस्ता कार्यहरु गरिरहेको छ ?

कोरोना भाइरस जुन विश्वमै महामारीको रुपमा फैलियो र यसको रोकथामको लागि नेपालमा पनि विभिन्न किसिमका कार्यहरूको सुरुवात गरिएको छ । गुल्मी जिल्लाले पनि विभिन्न अभियान थालेको छ । जिल्ला समन्वय समितिको पहलमा बैठक बसेर यसलाई कसरी व्यवस्थापन गर्न भन्ने बारेमा छलफल गर्यौँ । म ५ गते गुल्मी आएको थिएँ र ६ गते विपद व्यवस्थापन समितिको बैठक आह्वान गरी विभिन्न निर्णय गर्यौँ । त्यसपछि जिल्लाले एक प्रकारको गति लियो । जुन बैठकमा गुल्मी जिल्लाका सबै स्थानीय तहका प्रमुख, उप प्रमुखको उपस्थिति रहेको थियो । प्रत्येक पालिकाले विपद व्यवस्थापन प्रतिकार्य योजना निर्माण गर्ने, सुरक्षाका उपाय अपनाउने, हेल्थ डेस्क निर्माण गर्ने, सीमा नाका बन्द गर्नेजस्ता कार्यहरु गरियो । १० गते बाट लक डाउन सुरु भयो, यहाँ निशेषज्ञान जारी भयो र कार्यान्वनको लागि विभिन्न उपायहरु अपनाएका छौँ । क्वारेण्टाइन बेड र आइसोलेसन बेडको पनि व्यवस्था गरेका छौँ ।

अहिले गुल्मी जिल्लामा कति क्वारेण्टाइन बेड छन् ? कति मानिसहरु त्यहाँ बसेका छन् ? कतिको र्यापिड टेस्ट गरियो ? कति नागरिक बाहिरबाट आए ? यस विषयमा पनि प्रस्ट पारिदिनुहोस् ।

गुल्मी जिल्लाका विभिन्न १ सय १९ ठाउँमा १ हजार ४० वटा क्वारेण्टाइन बेडको व्यवस्था गरिएको छ भने ३२ बेडको आइसोलेसन कक्षको व्यवस्था गरिएको छ । क्वारेण्टाइनमा ८१ जनासम्म बसेको अवस्था थियो भने अहिले ३३ जना हुनुहुन्छ । ३२ जनाको र्यापिड टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको छ र उहाँहरुलाई होम क्वारेण्टाइनमा बस्न अनुरोध गरेका छौँ । हामीसँग ३९ वटा एम्बुलेन्स छन् भने १० वटा तयारीको अवस्थामा छन् । त्यस्तै गरी गुल्मी जिल्लामा पछिल्लो समय १७ सयको हाराहारीमा गुल्मी आउनु भएको छ । भारत बाट १७ सय र अन्य तेस्रो मुलक बाट २ सय जना आउनु भएको छ । उहाँ सबैजना हाम्रो निगरानीमा हुनु हुन्छ ।

कोरोना रोकथामको लागि गुल्मीमा कति स्वयंमसेवक, सुरक्षाकर्मी र स्वास्थकर्मी परिचालन गरिएको छ त ?

हामीले स्थानीय क्लब, आमा समूह, महिला समूह तथा शिक्षकहरु परिचान गरेका छौँ । त्यस्तै २२ जना डाक्टर, ३ सय ४५ जना प्यारामेटिक स्टाफ, ९ सय ४५ जना महिला स्वास्थ्य स्वयंमसेविका, नेपाल प्रहरी र सशस्त्र गरी ४ सय जना सुरक्षाकर्मी र नेपाली सेनाको पनि सहयोग रहेको छ । हामीसँग ३९ एम्बुलेन्स छन् । तीमध्ये दशवटा सदैव तयारी अवस्थामा छन् । हिजोमात्र हामीले गुल्मी अस्पतालमा स्वाब परीक्षण र ज्वरो मापनकक्षको व्यवस्था गरेका छौँ । जुन स्वास्थ्यकर्मी होम पल्लीको डिजाइन र आर्थिक सहयोगमा कक्ष निर्माण गरेका हौँ । जसले गर्दा चिकित्सक र बिरामी दुबै सुरक्षित हुने हामीले विश्वास लिएका छौँ । जुन निर्माण गर्न ७०/८० हजार खर्च हुने हुँदा सबै पालिकालाई त्यसको व्यवस्था गर्ने अनुरोध गर्ने सोचेका छौं ।

पछिल्लो समय गाउँपालिकाले निर्माण गरेका क्वारेण्टाइन क्वारेण्टाइनजस्ता भएन भन्ने गुनासो पनि आएको छ । यसमा तपाईं के भन्नुहुन्छ ?

क्वारेण्टाइन मापदण्ड अनुसार त छैनन् तर पनि स्थानीय स्रोत साधन र हामीकहाँ उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरिएको छ । बाहिरबाट आएका नागरिकलाई छुटै राख्ने व्यवस्था मिलाउने, उनीहरुको हेरचाह गर्न आवश्यक व्यवस्था मिलाउने नै हाम्रो लागि ठुलो कुरा हो ।

जिल्लामा लकडाउनको अवस्था कस्तो छ ? सिमा नाकाको अवस्था कस्तो छ ?

जिल्लामा पुर्ण रुपमा लकडाउनको पालन भएको छ । कोरोना रोकथाम तथा लकडाउनको बारेमा जिल्लाका रेडियो / टिभीबाट प्रचारप्रसार पनि गरेका छौँ । नागरिकहरु आफैमा सचेत हुनुहुन्छ त्यसकारण पनि लकडाउनको पुर्ण पालन भएको छ । लक डाउनको म आफै र स्थानीय तहका प्रमुख, उप प्रमुखले पनि अनुगमन गर्नु भएको छ । जिल्लाभित्र र जिल्ला सँग जोडिएका सबै नाकामा कडाई गरिएको छ र थप कडाई गर्न आवश्यक पनि छ ।

हामीले अति आवश्यक इन्धन, एम्बुलेन्स, शवबाहन, दूध तरकारीका गाडीलाई बिना पास गुड्न दिएका छौँ भने पत्रकारहरुलाई प्रेसपासको आधारमा हिँड्न दिएका छौँ । किसानलाई कुनै अवरोध गरेका छैनौँ, उत्पादनमा प्रोत्साहन गरेका छौं । जिल्ला छिर्न सबै नाका हामीले बन्द गरेका छौँ । विशेष त बागलुङसँग सीमाना जोडिएका कारण हामीले विशेष सावधानी अपनाएका छौँ ।

जिल्लामा खाद्यान्नको आपूर्ति कसरी गर्नु भएको छ ? लक डाउनका कारण जिल्लामा कतै खाद्यान्न संकट त हुने होइन ?

खाद्यान्नको लागि हामिले बेलुका ६-७ बजेसम्म खरिदको व्यवस्था मिलाएका छौँ । जिल्लामा करिब दुई महिनाको लागि पुग्ने खाद्यान्न रहेको हामीले अनुमान गरेका छौँ । बाहिरबाट पनि आपूर्ति भइरहेको छ र अहिले गहुँ भित्राउने सिजन पनि हो । यसले पनि खाद्यान्नमा सहजता बनाएको छ । पुरानो अन्न पनि गुल्मीमा रहेको छ । तरकारीजन्य चिजहरु पनि यहीं उत्पादन हुँदा हामीलाई थप सहज बनाएको छ । पहिलो चरणमा जिल्लाका सबै स्थानीय तहले दैनिक ज्यालादारी गर्ने ११ हजार ५ सय ५८ विपन्न परिवारलाई २ हजार २ सय ९८ क्विन्टल खाद्यान्न वितरण गरेका छन् । बाटोमा अलपत्र परेका मजदुरलाई सम्बन्धित ठाउँसम्म पुर्याउने कार्य भइरहेको छ ।

देशका कतिपय ठाउँमा प्रहरीद्वारा डाक्टर अनि बिरामीहरु कुटिए भनेर आलोचना भइरहेको अबस्थामा गुल्मीमा कस्तो छ ? यस घटनाप्रति तपाईंहरु कत्तिको सचेत हुनुहुन्छ ?

यस विषयप्रति हामी सचेत छौँ । जिल्ला प्रहरी कार्यालयलाई पनि निर्देशन दिएका छौँ । मानवअधिकार उलङ्घन नहुने गरी स्थानीयलाई सम्झाउने बुझाउने क्वारेन्टाइनमा राख्ने गरेका छौँ । हाम्रो जिल्लामा त्यस्ता खालका घटना घटेका छैनन् ।

दीर्घरोगीका बिरामीहरुलाई अहिले औषधि खरिद गर्न समस्या परेको छ ? यस विषयमा के सोच्नु भएको छ ?

यस विषयमा छलफल भएको छ । जुन दीर्घरोगी हुनु हुन्छ, जसले निरन्तर औषधि सेवन गर्नुहुन्छ । उहाँहरुको कुनै औषधि जिल्लामा नपाईने पनि हुनसक्छ जसले गर्दा औषधि बुटवल अथवा चितवनबाट झिकाउनु पर्न हुन्छ त्यसको लागि हामीले औषधि व्यवसायीलाई निर्देशन दिएका छौँ । स्थानीय तहलाई दीर्घरोगीको डाटा जम्मा गरेर औषधि मगाउन अनुरोध गरेका छौँ । म स्वयंमले पनि सबै प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छु । आफैले चेकजाँच गरेर औषधि लिन पर्ने बिरामीलाई पासकार्डको व्यवस्था गरी सहजता प्रदान गरेका छौँ ।

कोरोनाको महामारीका कारण यति बेला गुल्मीवासी त्रसित छन् ? गुल्मेलीको मनोबल उच्च बनाउन तपाईंको सन्देश के छ ?

वास्तवमा जुन लकडाउन गरिएको छ । जुन हाम्रो लागि हो भनेर सबैले सोचिदिनु पर्यो र सरकारलाई सहयोग गरिदिन पर्यो । सबैजना लकडाउनको पालन गरी घरमै बसिदिनु होला । कोरोना भाइरसको संक्रमण सजिलै हुने हुँदा घरभित्र बस्नु होला । मास्कको प्रयोग गर्नुहोला, साबुन पानीले पटक पटक हात धुनुहोला । स्यानिटाईजरको प्रयोग गर्नुहोला । गुल्मी जिल्ला धार्मिक जिल्ला हो । यहाँ धेरै ऋषिमुनिले कठोर तपस्या गरेको ठाउँमा फेरि एक पटक हामी सबै गुल्मेलीले तपस्या गर्ने बेला आएको छ । प्रशासनले रोक लगाएको समयमा घुम्ने, डुल्ने र भोजभतेर नगरौँ । यदि अटेरी गरेको अवस्थामा संक्रमित रोग ऐन २०२० अनुसार कारबाही हुने छ । सबै गुल्मेली बुबाआमा, दाजुभाइ तथा दिदिबहिनीलाई घरमै बसौँ, भीडभाडमा नजाऔँ । मान्छे आफ्नो भए पनि रोग आफ्नो हुँदैन, त्यसैले आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ ।

सम्बन्धित

लकडाउन उल्लंघन गर्नेलाई इस्मालीले भाटा हान्छन् : उपाध्यक्ष खत्री (अन्तर्वार्ता)

कोरोना संक्रमित भेटिए सँगै थप सचेत छौँ – नगर प्रमुख पौडेल (अन्तर्वार्ता)

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्