Logo

कोरोना भाइरसः नेपालको पछिल्लो अपडेट



Spread the love

१० वैशाख, काठमाडाैँ – कोरोना भाइरसको हालसम्म ४० हजार ४३१ जनाको प्रयोगशाला परीक्षण भएको छ । पिसिआर विधिबाट ९ हजार ११ र र्यापिड डायग्नेस्टिक टेस्ट प्रविधिबाट परीक्षण गर्नेको सङ्ख्या ३१ हजार ४२० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।

मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटघाटमा पछिल्लो २४ घण्टामा ३ हजार ७३६ नयाँ प्रयोगशाला परीक्षण भएको जानकारी दिइयो । क्वारेन्टाइनमा रहने व्यक्तिको सङ्ख्या हालसम्म ८ हजार ५९५ रहेको छ भने आइसोलेसनमा रहने सम्भावित सङ्क्रमितको सङ्ख्या ९५ जना रहेको छ । हाल कोभिड १९ को रेड जोनमा पर्नेको सङ्ख्या २६९ पुगेको छ ।

मन्त्रालयमा सञ्चालनमा रहेका कलसेन्टरमा गत २४ घण्टामा २ हजार १४४ कल प्राप्त भएकोमा त्यसको सम्बोधन गरिएको जानकारी दिइयो । कोभिड १९ को उपचार गरिरहेकामध्ये निको भएर दुई जना आज मात्र घर फर्किएसँगै उपचार गरेर फर्कनेको सङ्ख्या ७ पुगेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा आज थप तीन वटा परीक्षण पोजेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए । उनीहरु तीनै जना पुरुष भएको बताइएको छ ।

नेपालमा हालसम्म कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या ४५ पुगेको छ । ३५ जनाको उपचार भइरहेको छ भने आज पुष्टि भएका तीन जनाको क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल लैजाने क्रममा रहेको जानकारी दिइयो । उपचारमा रहेका सबैको स्थिति सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्