Logo

महोत्तरीमा थप २ को मृत्यु



Spread the love

१८ वैशाख, महोत्तरी – मङ्गलबार र बुधबार गरी ४ जनाको रहस्यमय मृत्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा आज थप २ जनाको मृत्यु भएको छ ।

मङ्गलबार र बुधबार एकपछि अर्को गरी ४ जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सिताई महाराको मृत्यु भएको नगर प्रमुख संजिवकुमार साहले बताए ।

मङ्गलबार र बुधबार स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गारामको मृत्यु भएकामा आज थप दुई जना गरी मृतकको सङ्ख्या छ पुगेको प्रमुख साहले पुष्टि गरे ।

यसैबीच आजै थप दुई जना अति सिकिस्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले सो गाउँबाट उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगी उनीहरुको उपचार भइरहेको बताए । रहस्यमय तरिकाले छ जनाको मृत्यु भइसकेको त्यस गाउँमा उनीहरुको मृत्यु विषाक्त रक्सी सेवनबाट भएको हुनसक्ने वडाध्यक्ष वासुदेव सिंह थारुलगायत स्थानीय बासिन्दाले अडकलबाजी गरिरहेका छन् ।

प्रहरीले तीन दिनमा सो गाउँबाट ठूलो सङ्ख्यामा रक्सी र रक्सी बनाउनका लागि भण्डारण गरी राखिएको कच्चा पदार्थ नियन्त्रणमा लिए पनि उनीहरुको मृत्यु रक्सी सेवनबाट भएको कुरा स्वीकार गरिरहेको छैन । सिकिस्त दुई जनाको स्वास्थ्य जाँच तथा मृतकको शव परीक्षणपछि मात्रै सही कारण बाहिर आउने प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्