Logo

लकडाउनले बनायो मजदूरलाई व्यवसायी



Spread the love

२९ बैशाख, चितवन – लकडाउनका कारण कतिपय मजदूरलाई दैनिक गुजाराको समस्या परेको भएपनि यहाँका मजदूर भने व्यवसायी बनेका छन् । लकडाउन अघि मजदूरीमा लागेका अहिले तरकारी, फलफूल र हरियो मकै जस्ता वस्तुको बिक्री गर्ने व्यवसायमा लागेका छन् । मजदूरले आफैँ ठेला, रिक्सा, साइकल किनेर त्यसमार्फत घरघरमा सामान पुर्याउन थालेका हुन् ।

साइकलमा रु तीन सयको टोकरी (क्रेट) राखेपछि उनीहरुको व्यवसाय शुरु हुने गरेको छ । कालिका नगरपालिका–४ का सोम थापामगर टिप्परका चालक थिए । लकडाउनसँगै टिप्पर चल्न छोडेपछि आजभोलि उनी तरकारी व्यवसायी बनेका छन् ।

पदमपुर क्षेत्रमा उत्पादित तरकारी खरीद गरेर भरतपुर क्षेत्रमा बिक्री गर्नु उनको अहिले दैनिकी बनेको छ । दैनिक रु सात÷आठ सय बचाउन सकिने उनको भनाइ छ । जुन तरकारी बिक्री हुन्छ, त्यही तरकारी किनेर ल्याउने गरेको उनले बताए । बिहान दुई÷तीन घण्टा समय दिएपछि त्यति कमाई हुने थापामगरको भनाइ छ ।

पदमपुरका सोम थापामगरको घरमा रहेको सानो किराना पसल सामानको अभाव चल्न पाएको छैन तर उनले आजभोलि तरकारीको व्यापार गर्न थालेका छन् । किराना पसलमा नगदमा सामान ल्याएर उधारोमा बाँड्नुभन्दा बिहानको समयमा तरकारी बिक्री गर्दा त्यसले बढी फाइदा हुने गरेको उनले बताए ।

भरतपुर क्षेत्रमा ई–रिक्सा चलाउँदै आएका विष्णु कार्की यतिबेला हरियो मकै बिक्री गर्न व्यस्त छन् । ई–रिक्सा नचलेपछि बिहानै पश्चिम चितवन र गैँडाकोट पुगेर बारीबाटै मकै ल्याएर बिक्री गर्ने गरेको उनले बताए । राम्रो मिहिनेत गरे एकै दिन रु आठ÷नौ सय कमाई गर्न सकिने उनले बताए । बिहान दुई÷तीन घण्टा खट्दा यति आम्दानी हुने गरेको उनको भनाइ छ ।

नारायणगढमा रहेको महानगर फलफूल तथा तरकारी बजार लकडाउनसँगै बन्द गरिएको छ । जसका कारण स्थानीय उत्पादन उपभोक्तासम्म लैजान समस्या भइरहेका बेला थपिएका यस्ता व्यापारीले घरघरमा तरकारी र फलफूल पुर्याउन थालेपछि उपभोक्ता लाभान्वित भएका छन् भने स्थानीय उत्पादनले बजार पाएको छ ।

प्रतिक्रिया दिनुहोस्