Logo

ब्याज घटाउने घोषणा कार्यान्वयन नहुने



Spread the love

३० बैशाख, काठमाडाैँ – जेठ १ देखि ऋणको ब्याज (नयाँ–पुराना सबै) घटाउने बैंकहरूको घोषणा कार्यान्वयन नहुने भएको छ । लकडाउनका कारण नोक्सानी बेहोरेका ऋणीलाई २ प्रतिशत बिन्दुले ब्याज कम गर्न राष्ट्र बैंकले निर्देशन दिएकाले जेठदेखि ब्याज घटाउने यसअघिको घोषणा कार्यान्वयन नहुने बैंकर्स संघले बताएको छ ।

बैंकहरूको यो निर्णयसँगै सबै ऋणी (नयाँ–पुराना) ले कम ब्याजको सुविधा नपाउने भएका छन् । बेस रेटमा आएको फेरबदलअनुसार ऋणको ब्याज समायोजन हुँदा सबै ऋणीको ब्याज घट्थ्यो । राष्ट्र बैंकको निर्देशनअनुसार ब्याज घटाउँदा भने तोकिएका पीडित ऋणीले मात्र ब्याजदर छुट पाउँछन् । समग्रमा सबै ऋणीको ब्याज घट्दैन ।

‘वैशाखसम्मको आधार दरअनुसार जेठदेखि ऋणको ब्याज घटाउने योजना थियो,’ संघका अध्यक्ष भुवन दाहालले भने, ‘दुई प्रतिशत बिन्दुले ब्याज कम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । उक्त निर्देशन परिमार्जनका लागि आग्रह गरेका छौं ।’ राष्ट्र बैंकले आफ्नो निर्देशन परिमार्जन गरे यसअघिको घोषणाअनुसार वैशाखसम्मको आधार दरका आधारमा जेठदेखि ऋणीको ब्याज घट्छ । त्यसो नभए राष्ट्र बैंककै निर्देशनअनुसार तोकिएको क्षेत्रका ऋणीको चैतको ब्याजदरमा २ प्रतिशत बिन्दु कम गरी वैशाख, जेठ र असारको ब्याजदर गणना गरिने दाहालले जानकारी दिए ।

यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएको छ ।

प्रतिक्रिया दिनुहोस्