Logo

लकडाउन झन कडा



Spread the love

१ जेठ, चितवन । कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडा गरेको छ । जिल्लाका चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले जाँच बढाएसँगै आवतजावत न्यून भएको छ । अत्यावश्यक सवारी साधन मात्र चलेका छन् ।

चितवन 'लक डाउन' – Saurahaonline.com

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार नारायणी पुलबाट एक प्रदेशसभा सदस्यलाई समेत फिर्ता गरिएको छ । सवारी अनुमतिपत्र नलिइ आएका उनलाई सम्झाएर पठाइएको हो । उनले भने, “अत्यावश्यकबाहेक कसैलाई पनि जिल्ला छिर्न दिइएको छैन ।” यसै जिल्ला हुँदै राजधानी प्रवेश र बाहिरिनेको सङ्ख्या बढी हुने गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार भीडभाड नगरी बैंक सञ्चालन गर्न दिइएको छ । भीड भएका बैंक तत्काल वन्द गर्न लगाइएको छ । दमकल, एम्बुलेन्स, शववाहन, स्वास्थ्यकर्मी र पत्रकारका सवारी साधन चलेका छन् । औषधि, दूूध, तरकारी र खाद्यान्न ढुवानीका सवारीसाधनलाई मात्र चल्न दिइएको उनले जानकारी दिए ।

यससँगै स्थानीय प्रशासनले अनुगमनमा तीव्रता दिएको छ । अटेर गर्नेलाई कारवाही गरिएको छ । सवारी जाँच बढाएसँगै आवतजावत पनि घटेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका नायब प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार बिहीबारबिना अनुमति हिँडडुल गर्ने ३८ सवारी साधन र १५ जनालाई नियन्त्रणमा लिइएको थियो । व्यक्तिहरुलाई छाडिएको छ भने सवारी साधन प्रहरीले राखेको छ । लकडाउन शुरु भएयता जिल्लामा एक हजार १८८ सवारी साधन नियन्त्रणमा लिइ कारवाही गरिएको छ ।

भाटभटेनीलाई जरिवाना

लकडाउनको मौका छोपी कालोबजारी गरेको अभियोगमा यहाँको भाटभटेनी सुपर मार्केटलाई स्थानीय प्रशासनले रु एक हजार जरिवाना र एक महिना कैदको सजाय सुनाएको छ । उपभोक्ताको गुनासोपछि प्रशासनले गरेको अनुगमनका क्रममा भाटभटेनीले प्रचलित मूल्यभन्दा बढीमा सामग्री बेचेको भेटिएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार तरकारीमा बजारको प्रचलित मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएपछि भाटभटेनीलाई कारवाही गरिएको हो । भाटभटेनीका तर्फबाट भरतपुरका व्यवस्थापक जमुना गुरुङलाई सो सजाय सुनाइएको थियो । निज गुरुङले कैद बराबरको जरिवाना रकम तिरेर छुटेको उनले जानकारी दिए ।

यसैगरी रत्ननगरमा रहेको पौडेल पुस्तक महलका सञ्चालक हरिनारायण उपाध्यायलाई बढी मूल्यामा पुस्तक बेचेपछि एक महिना कैद र रु एक हजार जरिवाना गरिएको छ । निजले पनि कैदवापतको जरिवाना तिरी रिहा भएको प्रशासनले जनाएको छ ।

यस्तै महङ्गो मूल्यमा फलफूल बिक्री गर्ने चार व्यवसायीलाई कारवाही गरिएको छ । कारवाहीमा पर्नेमा काठमाडौँ फ्रुड्स र आचार्य फ्रुड्स नारायणगढलाई रु २५/२५ हजार र हिमालय फ्रुड्स तथा सुभम फ्रुड्सलाई रु १०/१० हजार धरौटी तोकिएको उनले जानकारी दिए ।

बजार अनुगमनका क्रममा उनीहरुले उपभोक्तालाई बजार मूल्यभन्दा महङ्गो मूल्यमा बिक्री गरेको पाइएपछि धरौटी तोकी तारेखमा छाडिएको सिम्खडाले बताए। उनीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(५) बमोजिम कारवाही गरिएको उहाँले जानकारी दिनुभयो । लकडाउनको मौका छोपी महङ्गोमा सामान बिक्री गर्नेलाई स्थानीय प्रशासनले कडाइका साथ अनुगमन गर्ने काम गरिरहेको छ ।

-रासस

प्रतिक्रिया दिनुहोस्