Logo

सांसद विकास कोषको रकम सांसदलाई दिइएको होइन : मन्त्री त्रिपाठी



Spread the love

२७ जेठ, काठमाडाैँ – सङ्घीय ममिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गतको बजेट कुनै सांसदलाई व्यक्तिगतरुपमा नदिइएको प्रष्ट पारेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन विधेयक, २०७७ मा उठेको प्रश्नको जवाफ दिँदै उनले कार्यक्रम निर्माण गर्दा सांसदको सहभागितालाई सुनिश्चित गर्ने ढङ्गबाट अगाडि बढाइएको बताए । “सांसद भनेको जनप्रतिनिधि हुन्, निर्वाचन लडेर आएका हुन्, चन्दा पुरस्कारमा आएका होइनन् । त्यो निर्वाचनको बेलामा जनप्रतिनिधिले जनतासँगका सम्बन्धलाई वा त्यहाँ देखेका कठिनाइलाई सो कार्यक्रममार्फत सम्बोधन गर्ने हो”, उनले भने, “यो कार्यक्रम निर्वाचित सांसदलाई दिइएको होइन, यो त पूर्वाधार विकास कार्यक्रम हो, यसमा सबै सांसद अभिन्न अङ्ग हुनुहुन्छ ।”

मन्त्री त्रिपाठीले आगामी आवमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत विनियोजित रकमलाई स्वास्थ्य र कृषि क्षेत्रमा खर्च गर्नसमेत आग्रह गरे । “अहिलेको सङ्कटमा हाम्रो स्वास्थ्य अवस्था कस्तो छ ? नेपालले विकास गरेको स्वास्थ्य अवस्था अहिले उदाङ्गो भएको छ”, उनले भने, “अझ जनप्रतिनिधिको तहमा त स्वास्थ्य अवस्था झनै खस्केको छ, मेरो आग्रह छ यसपटक यो कार्यक्रमको रकम स्वास्थ्यमा बढी केन्द्रित गर्नुहोस् ।”

प्रतिक्रिया दिनुहोस्