Logo

नक्सा जारीपछि भारतसँगको वार्तामा नेपाल बलियो’



Spread the love

२८ जेठ, काठमाडाैँ – प्रतिनिधिसभाका सदस्यहरुले नेपालको अन्तर्राष्ट्रिय सीमासहितको नयाँ नक्सा जारी हुनुले छिमेकी भारतसँगको कूटनीतिक वार्तामा नेपाली पक्ष बलियो हुने जनाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ माथिको सैद्धान्तिक छलफलमा उनिहरुले लामो समयदेखि थाती रहेको सीमा मुद्दालाई किनारा लगाउने क्रममा नयाँ नक्सा जारी गरी संधिवान संशोधन प्रस्ताव ल्याउने आँट गरेकामा प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद्का सदस्यप्रति प्रशंसा गरिएको थियो ।

विगतमा राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि भएका सकारात्मक प्रयासको पनि सांसदहरुले स्मरण गर्दै संशोधन पारित भएका दिन मुलुकमा दीपावली गर्न आग्रह गरे । सो विधेयकमा विचार गरियोस् भनी आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फले प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा नेपाली काँग्रेसका डा प्रदीप गिरीले जमीन हाम्रो हो भन्नेमा बहस गर्न पर्दैन तर पर्याप्त गृहकार्य गरेर भूमि फिर्ता ल्याउन आग्रह गरे । नेकपाका महेश बस्नेतले नेपालको नयाँ नक्साबारेको संशोधनमा अन्य विषय नजोड्न आग्रह गर्दै मिचिएको भूमि ल्याउन सरकारले पहल गरोस् भने ।

नेकपाका गोकुलप्रसाद बाँस्कोटाले मुलुक अहिले नयाँ इतिहास निर्माण गर्ने क्रममा रहेको बताउँदै नेपाल सुगौली सन्धिले निर्धारण गरेको सीमा कटेर पश्चिम गएको नभई भारत आफैँ सम्झौता नाघेर आएपछि उत्पन्न भएको सीमा विवाद नक्कली विवाद हो भने । नेकपाका अञ्जना विसङ्खेले भारतीय सेना कुन विधिबाट हटाउन सक्छौँ, त्यसतर्फ सबै एकबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्