Logo

गौचन हत्याका नाइके विदेशबाट धम्क्याएर रकम उठाउँदै- भारतीय प्रहरीले गरेन सहयोग



Spread the love

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका नाइकेहरूले विदेशबाट फोन गरी व्यापारीलाई धम्क्याएर रकम असुलिरहेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

गिरोहका मुख्य नाइके समीरमानसिंह बस्नेत र लोप्साङ लामाले विदेशबाट फोन गरी धम्क्याइरहेको स्रोत बताउँछ । हत्यामा संलग्न सातजना प्रहरी हिरासतमा छन् ।

उनीहरू सबै घटनाका सहायक अभियुक्त मात्र हुन् । हत्याका मुख्य योजनाकार पक्राउ नपर्दा व्यवसायी थप त्रसित भएका छन् । प्रहरीले योजनाकार समूहका एकजनालाई पनि पक्राउ गरेको छैन ।

प्रहरी प्रतिवेदनले हत्याराको मनोबल उच्च
प्रहरीले समेत बस्नेत र लामा समूहले गौचनको हत्या गरेको पुष्टि गर्दै प्रतिवेदन सार्वजनिक गरेपछि उनीहरूको मनोबल उच्च भएको छ । सोही कारण उनीहरूले धम्की र असुलीलाई बढाएका छन् । नेपालका ठूला ठेकेदार, सुन व्यवसायी र उद्यमीहरू उनीहरूको निशानामा परेका छन् । प्रहरीले गौचनलाई गोली हान्नेमध्ये राजीव स्याङ्तान एक भएको बताए पनि उनले आफूले गोली चलाएको अस्वीकार गरेका छन् ।

‘डिङटोन’ लगायत मोबाइल एपमार्फत धम्की
शुक्रबार मात्र एक व्यवसायीलाई बस्नेतले फोन गरेर पैसा माग्दै धम्काएका थिए । ‘डिङटोन’ लगायत मोबाइल एपमार्फत व्यापारीहरूलाई फोनमा धम्की आउने गरेको छ । त्यस्ता एपबाट हुने फोनको आइपी ठेगाना तथा सर्भर पत्ता लगाउन कठिन हुने गरेको प्रहरीको भनाइ छ । जस कारण उनीहरूले आतंक फैलाउँदै लगेका छन् ।

स्रोतका अनुसार हुन्डीमार्फत दुबईमा पैसा पठाउन भन्दै उनीहरूले व्यापारीलाई धम्काइरहेका छन् । पैसा नदिए गौचनको जस्तै हालत बनाइदिने बताएपछि धेरै व्यापारीले डराएर पैसा पठाइसकेको स्रोतको भनाइ छ । नवराज मैनालीले नयाँ पत्रिकामा लेखेका छन् ।

भारतबाट धम्की 
प्रहरीका अनुसार गिरोहका नाइके बस्नेत, लामा तथा मनोज पुन तीनैजना भारतमा बसेर धम्की र असुली मच्चाउँदै आएका छन् । प्रहरीले अपरिचित नम्बरबाट आएका फोन नउठाउन व्यवसायीलाई आग्रह गरेको छ ।

भारतीय प्रहरीको असहयोग
मनोज पुनको समूहलाई पक्राउ गर्न प्रहरी दुई वर्षदेखि लागिपरे पनि सफल हुनसकेको छैन । पटकपटक नेपाल प्रहरीको टोली भारत पुगे पनि भारतीय प्रहरीले समेत असहयोग गरेको स्रोत बताउँछ । तीनैजना नाइके इन्टरनेटमार्फत मात्र आफ्नो समूहसँग सम्पर्कमा रहने गर्छन् । भारतीय नागरिकको संरक्षणमा रहेका कारण उनीहरूलाई प्रहरीले पक्राउ गर्नसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्