Logo

‘कोरोनामाथि विजय नभए नेतृत्व असफल हुन्छ’



Spread the love

३० जेठ, कर्णाली – कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कोरोनामाथि विजय हुन नसके नेतृत्व नै असफल भएर जाने बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कर्णाली प्रदेश आईसीटी विभागद्वारा आयोजित ‘पाँच दिवसीय सूचना तथा प्रविधिसम्बन्धी तालीम’ सञ्चालनका क्रममा कानूनमन्त्री भण्डारीले कोरोनामाथि विजय हुन नसके नेतृत्व र मुलुकको औचित्य सकिएर जाने बताए । उनले कर्णाली प्रदेशमा कोरोनाको ‘इपिसेन्टर’ बन्दै गएको दैलेखतर्फ हाल प्रदेश सरकार केन्द्रित भएको जानकारी गराए ।

“हामी दैलेखलाई पीसीआर मेसिनको व्यवस्था गर्ने पहलमा छौँ”, उनले भने, “प्रदेश सरकार यहाँका नागरिकको जीवन रक्षाका लागि अहोरात्र खटेर सङ्घ र स्थानीय सरकारसँग पनि निर्वाध समन्वय गरिरहेको छ ।” प्रदेशमा २७ आइसोलेशन सेन्टर खडा गरेर अघि बढेको र प्रदेश सरकारले क्वारेन्टिनको प्रभावकारी व्यवस्थापनका लागि लागि गृहकार्य गरिरहेका उनको भनाइ थियो ।

पूँजीवादी विकसित देश पनि कोरोना भाइरसबाट हायलकायल भएको जिकिर गर्दै मन्त्री भण्डारीले सीमित साधन स्रोतमा रहेर कर्णाली प्रदेश सरकारले बाध्यात्मक काम गर्नुपरेको बताए । कोरोनाविरुद्धको कठिन लडाइँको घडीमा हरेकलाई औचित्य पुष्टि गर्ने अवसर मिलेको बताउँदै उनले सम्पूर्ण शिक्षकलाई आ–आफ्नो क्षेत्रबाट कोरोना प्रतिकार्यको अभियानमा जुट्न आग्रह गरे ।

सङ्क्रमित स्थानीय तह र गाउँमा प्रवेश गरिहाल्दा दुनियाँ भासियो र लीला नै समाप्त पार्छ भन्ने अतिवादी बुझाइलाई चिर्न र समाजमा सकारात्मक सन्देश प्रवाह गर्न पनि उनले शिक्षकलाई अनुरोध गरे ।

शिक्षकको तत्काल विद्यालय खोल्ने वा के हुने ? भन्ने जिज्ञासामा उहाँले चाँडै विद्यालय सञ्चालन गर्न उपयुक्त नहुने धाराण राखेका थिए । उक्त अनलाइन तालीममा दैनिक ५५–८० शिक्षक सहभागी हुने गरेको सङ्गठन कर्णाली प्रदेश उपाध्याक्ष तथा आईसीटी विभागका संयोजक रामबहादुर रावलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्