Logo

प्रतिस्पर्धामा रहेका गठबन्धनबीच नै मत बाँडफाँट



Spread the love

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका २ स्थित दोङदेङदेवी मावि मतदान केन्द्रमा प्रतिस्पर्धामा रहेका गठबन्धनबीच नै मत बाँडफाँट भएको छ।

वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा रहेको उक्त क्षेत्रमा कसलाई कति मत छुट्याउने भन्ने विषयमा विवाद भएपछि ढिलो गरी मतदान सुरु भएको थियो।

जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख ईश्वर सिंखडाले दोङदेन देवी माध्यामिक विद्यालयमा मध्याह्न १२ बजेबाट मात्रै मतदान सुरु भएको जानकारी दिए। मतदाता र दलका प्रतिनिधिबीच छलफल भइरहेकाले बिहानै मतदान प्रक्रिया सुरु नभएको मतदान अधिकृतले जानकारी दिएका सिंखडाले बताए।

सात सय ३८ मतदाता रहेको उक्त केन्द्रमा सात सय ३० मत खसेको छ। विकट र छरिएको मानव बस्ती रहेको उक्त केन्द्रमा ९८ प्रतिशत मत खसेको थियो।

मतदान अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले टेलिफोन सम्पर्कमा भने, ‘दलका प्रतिनिधिले आफ्ना गठबन्धनको भोट छुट्टाछुट्टै लाइनबाट खसाल्ने प्रस्ताव गरेका थिए तर हामीले त्यसो गर्न दिएनौं।

हामीले बनाएको मतदान केन्द्रको संरचनाअनुसार महिला र पुरुषको लाइनमा नै मतदाता आफ्नो-आफ्नो गठबन्धनको तर्फबाट लाइन लागेर मत खसाल्ने सहमतिका साथ आए। शान्तिपूर्ण तरिकाले लाइन लागेर मत खसाल्न आएपछि हामीले भोट हाल्न दियौं भन्ने खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ।

 

प्रतिक्रिया दिनुहोस्