Logo

पर्यटन व्यवसायीको पीडा, दुई वर्षसम्म ब्याज तिर्न नसक्ने



Spread the love

२४ असार, काठमाडाैँ – कोभिड– १९ को कारण जारी बन्दाबन्दीले व्यवसाय ठप्प भएकाले वित्तीय संस्थाबाट लिइएको कर्जाको भुक्तानी आगामी दुई वर्षसम्म तिर्न नसक्ने पोखराका पर्यटन व्यवसायीले बताएका छन् ।

पोखरा पर्यटन परिषद्ले आज पोखरामा पत्रकार सम्मेलन गरी सहज परिस्थितिमा नियमित कर्जा बुझाउँदै आएका व्यवसायीले अहिलेको कठिन अवस्थामा वित्तीय संस्थाका लागि कर्जा बुझाउन सक्ने अवस्था नरहेकाले प्रदेश सरकारमार्फत बुँदागत रुपबाट ध्यानाकर्षण गराएको छ ।

परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले समयमै आफूहरुको माग सम्बोधन नभए व्यवसायको तालाचाबी नै बैंकलाई बुझाउन बाध्य हुने चेतावनी दिए । उनले भने, “वित्तीय संस्थाबाट लिइएको ऋणको किस्ता तथा ब्याज आगामी दुई वर्षसम्म तिर्न सक्ने कुनै सम्भावना छैन, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीका कर्जाको भुक्तानी तालिकालाई पुनर्तालीकीकरण गर्नुपर्छ ।”

कोरोना भाइरसबाट प्रभावित व्यवसायलाई छुट्याइएको रु एक खर्बको पुनर्कर्जा कोष र रु ५० अर्बको व्यवसाय सञ्चालन कोषको उपयोग पूर्णरुपमा समानुपातिक र सरलीकृत हुनुपर्ने र विशेष गरी साना मझौलास्तरका व्यवसायीलाई प्राथमिकतामा राख्ने गरी थ्रेसहोल्ड सीमा (अधिकतम रु १० लाख ) राखेर सरल र सहज प्रक्रिया अपनाउन बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकबाट निर्देशन दिन परिषद्ले अनुरोध गरेको छ ।

परिषद्का उपाध्यक्ष गोपी भट्टराईले सरकारले कृषिमा जस्तै पर्यटनमा पनि रकम छुट्याएर सहुलियत प्रदान गर्नुपर्ने बताए । बैंकको ब्याजलाई पाँच प्रतिशत ब्याजदरमा बढीमा रु १० लाखको थ्रेस होल्ड कायम गरी व्यवसायीको पहुँचमा पुर्याउनुपर्नेमा उनले जोड दिए ।

परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा पर्यटनलाई प्राथमिकता राखेर सम्बोधन गर्नुपर्ने बताए । परिषद्का महासचिव दिल गौतमले गण्डकी प्रदेशमा बैंक तथा वित्तीय क्षेत्रको करीब रु ७५ अर्ब पर्यटन क्षेत्रमा लगानी भएको जानकारी दिए ।

रासस

प्रतिक्रिया दिनुहोस्