Logo

अज्ञात रोगले ५० पशुवस्तु मरे, पशुशाखामा छैनन् पशु स्वास्थ्यकर्मी



Spread the love

१६ साउन, हुम्ला – एक सातादेखि फैलिएको अज्ञात रोगले हुम्लाको चंखेली गाउँपालिकामा ५० पशुवस्तु मरेका छन् । अचानक पशुवस्तुको छाती सुनिने, घाँस नखाने, र्याल छोड्ने रोगले अहिलेसम्म ६ भैँसी, ६ दुहुनागाई र अन्य पशुवस्तु मरेको चंखेली–२ भट्टेबाडाका वृष धितालले जानकारी दिए । “असार २० पछि फैलिएको उक्त रोगले अहिलेसम्म चंखेलीको दार्मा, मिमी, भट्टेबाडालगायत क्षेत्रका कृषकका ५० भन्दा बढी पशुवस्तु मरेको खबर हामीले पाएका छौँ”, धितालले भने, “अधिकांश पशुवस्तु अहिले जङ्गलतिर खर्क लिने चलनले पनि अन्य मरेका पशु वस्तुको बारेमा यकिन विवरण आउन बाँकी छ ।”

विभिन्न गाउँमा १०० भन्दा बढी पशुवस्तु बिरामी परेका छन् । गाउँपालिकाको पशुशाखामा औषधिका लागि गए पनि कोही पनि पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको छ ।

असार मसान्त लागेसँगै गाउँपालिकाबाट बाहिरिएका पशु स्वास्थ्यकर्मी गाउँमा नभएपछि बिरामी परेका पशुलाई तत्काल उपचार गर्ने व्यवस्था भएको स्थानीय पदबहादुर सिंहले बताए । “गाउँगाउँबाट पशु बिरामी भएको खबर आउने गरेको छ”, सिंहले भने, “औषधिका लागि जाँदा पशु शाखाको ढोका बन्द भएकाले रित्तो हात फर्किनुपरेको छ ।”

प्रतिक्रिया दिनुहोस्