Logo

स्वास्थ्यकर्मी सङ्क्रमित, सरकारी र निजी अस्पताल बन्द



Spread the love

२४ साउन, सप्तरी – सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र छिन्नमस्ता अस्पताल शुक्रबारदेखि बन्द भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षका चार जना अहेब र छिन्नमस्ता अस्पतालको शल्यक्रिया कक्षमा कार्यरत सल्यक्रिया सहायकमा आज कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द भएको हो ।

अस्पताल निसङ्क्रमण गर्नुपरेको र ठूलो सङ्ख्यामा अन्य स्वास्थ्यकर्मीलाई होम क्वारेन्टिनमा राख्नु परेकाले आकस्मिक कक्ष, ‘सर्जरी’ र ‘ओपिडी’ सेवासमेत बन्द गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताए । आकस्मिक कक्षमा तीन जना अहेव यसअघि नै सङ्क्रमित भएर आइसोलेशनमा छन् भने सरसफाइ कर्मचारी र अस्पतालकै पोषण गृहमा कार्यरत नर्स दुई दिनअघि मात्र निको भई घरमा आराम गरिरहेका छन् ।

आकस्मिक कक्षका सात जना अहेब आइसोलेशनमा भएको र शङ्कास्पद तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारी होम क्वारेन्टिनमा बस्नु परेकाले आकस्मिकका साथै ‘सर्जरी’ र ‘ओपिडी’ सेवासमेत बन्द गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर झाले बताए । आकस्मिक कक्ष निसङ्क्रमण गर्न पूरा दिन लाग्ने भएकाले आवतजावत बन्द गरी दिनभरि सेवा ठप्प हुने भएको छ ।

सामान्य हुँदै गएका आकस्मिक कक्षमा उपचाररत बिरामीलाई होम क्वारेन्टिनमा बस्न घर पठाइएको र निगरानीमा राख्नुपर्ने सर्पदंश, विष सेवनसहितका पाँच÷छ जना बिरामीलाई बरण्डामा छुट्टै राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्