Logo

पार्टी एकीकरणबाट प्रभाव देखिएन



Spread the love

पौष २, काठमाडौं – सल्लेरी खबर । संघीय समाजवादी फोरम नेपालले आदिवासी जनजाति तथा खास आर्यसँग पार्टी एकीकरण गरे पनि त्यसको परिणाम खासै राम्रो देखिएन । मधेश आन्दोलनबाट स्थापित मधेशी जनअधिकार फोरम नेपालले अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकीकरण गरी हिमालदेखि तराईसम्म पार्टी विस्तारको खाका बनाउनुका साथै राष्ट्रिय पार्टीको स्वरुप दिनकै लागि मधेश शब्द हटाएर संघीय समाजवादी फोरम नेपाल नाम राख्यो । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा एकीकरण भएअनुसारको नतिजा निकाल्न सफल नभएपछि पार्टीका कार्यकर्ता निराश बनेका छन् ।

मधेशी, आदिवासी जनजाति र खस आर्य सम्मिलित छुट्टै पार्टी बनाएर फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हिमालसम्म संगठन निर्माण गर्नुभयो । देशभरि प्रतिनिधिसभाको १६५ सीटमध्ये फोरम नेपालले १३० सीटमा उम्मेदवारी दिएको थियो । फोरम नेपालले प्रतिनिधिसभामा १० र प्रदेशसभामा २४ सीट जितेको छ । देशैभरि संगठन रहेको दावी गर्ने फोरम नेपालले प्रदेश–२ मा मात्र आफ्नो प्रभाव देखाउन सकेको छ । सो प्रदेशबाट प्रतिनिधिसभामा नौ र प्रदेशसभामा २० सीट प्राप्त गरेको छ । फोरम नेपालले तराई मधेशमा राजपा नेपाल र दुई ठाउँमा काँग्रेससँग चुनावी तालमेल गरेको थियो ।
अशोक राई फोरम नेपालसँग एकीकरण गर्दा पाँचजना सांसद लिएर जानुभएको थियो । राई एमालेबाट अलग भएर आदिवासी जनजातिहरुलाई समेटेर देशैभरि संगठनको स्वरुप दिनुभयो र पाँचवटा समानुपातिक सीट हात पार्नुभएको थियो । तर मधेशवादी दलसँग एकीकरण गरेपछि उहाँ स्वयं पराजित हुनुभयो भने सो दलले हिमाल र पहाडबाट प्रत्यक्षमा विजय हात पार्न सकेन ।


फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले चुनावै जित्ने गरी पहाडमा संगठन निर्माण नभएको बताउनुभयो । “एकीकरण नहुँदा पार्टी एउटा संरचनामा थियो । एकीकरण भएपछि त्यो संरचना भत्कियो । नयाँ संरचना बनाउँदै गर्दा चुनाव भयो त्यही भएर कमजोर देखिएको हो” उहाँले भन्नुभयो ।
बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका पार्टीका महासचिव रामसहाय यादवले हिमाल–पहाडमा संगठन निर्माणकै अवस्थामा रहेका कारणले परिणाम त्यस्तो देखिएको तर्क गर्नुभयो । उहाँले आफूहरुको जनाधार मधेशमात्र भएको र अब विस्तारै पहाडमा पनि संगठन बलियो हुँदै गरेको बताउँदै अगामी चुनावमा आफूहरु विजयी हुने दावी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्