Logo

उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ : प्रम ओली



Spread the love

२२ भदाै। काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङ्क्रमण महामारीको अवस्थामा नागरिकको जीवन रक्षालाई मुख्य रूपमा सरकारले ध्यान दिएको बताउनुभएको छ । अर्थमन्त्रीको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री ओलीले स्वतन्त्रताको असन्तुलित वकालतले गर्दा धेरै ठूलो क्षति भोग्नुपर्नेतर्फ सबैको ध्यानाकर्षण समेत गर्नुभयो । उहाँले ‘कोभिड–१९ ले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव’ सम्बन्धमा निजी क्षेत्र सम्बद्ध संस्थाका नेतृत्वकर्ताहरूसँग आइतबार आयोजना गर्नुभएको सुझाव र परामर्श छलफलमा यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, प्रधानमन्त्री ओलीले अर्थतन्त्र नकारात्मक अवस्थामा नपुगेको चर्चा गर्नुहुँदै उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको स्पष्ट पार्नुभयो । उहाँले सरकारले कर असुलीमा मात्र ध्यान नदिइएको विषयका तथ्यहरू बारे समेत चर्चा गर्नुभयो । उहाँले नेपाली जनता कसैलाई भोकै रहन नदिन सरकार लागिपरेको र त्यसका लागि वास्तविक समस्या राख्न समेत स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूलाई आह्वान गर्नुभयो ।

उहाँले कोरोनाको विषयमा मनोवैज्ञानिक आतङ्क नफैलाई नागरिकको मनोवल बढाउनुपर्नेमा विशेष जोड दिनुभयो । उहाँले छिमेकी मुलुक भारतले धेरै ‘रेमिट्यान्स’ भित्रयाउनेमध्ये छैठौ मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने प्रष्ट रहेको चर्चा गर्नुहुँदै रोजगारीका लागि विदेश जानुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले कोभिड–१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै सचेत हुनुपर्ने बताउनुभयो ।

करिव अढाई घण्टा चलेको छलफलमा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गर्नुभएको थियो । उहाँहरूले कोरोनालाई हौवाको विषय नबनाउन समेत प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।

छलफलमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छालगायतले निजी क्षेत्रका समस्या र समाधानका लागि सुझावहरू प्रस्तुत गर्नुभएको थियो । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेको अध्ययन र सम्बोधनको बारेमा स्पष्ट गर्नुभएको थियो ।

यो खबर गोरखापत्रमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्