Logo

बेपत्ता युवाको शव भेटियो



Spread the love

२६ भदाै, बागलुङ – बागलुङको वडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरामा परी हराएका एक युवाको शव फेला परेको छ । आज बिहान अविरल वर्षासँगै आएको पहिरामा परी बेपत्ता भएका दर्लिङको निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगरको शव फेला परेको हो ।

उनलाई बारीमा काम गरिरहेको अवस्थामा पहिराले पुरेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताउनुभयो । बेपत्ता मगरलाई खोज्न भिमगिठे प्रहरी चौकीबाट दर्लिङ पुगेको प्रहरीको टोलीले शव फेला पारेको हो । बारीमा रहेका मगरलाई पहिराले पुरेको भए पनि अन्य कुनै क्षति नभएको प्रहरी निरीक्षक हेम केसीले बताए ।

मगरको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । बागलुङकै ढोरपाटन नगरपालिका–९ बोबाङमा गत भदौ १७ गते आएको बाढीपहिरामा बेपत्ता भएका १६ जनाको आज पनि प्रहरीले खोजी गरेको छ । आज अबेरसम्म बेपत्ता कोही पनि नभेटिएको प्रहरीले जनाएको छ । यसअघि पहिरामा बेपत्ता भएका ३८ जनामध्ये २२ को शव फेला परेको थियो ।

यता जैमिनी नगरपालिका–७ जैदीमा चार घर पहिराको उच्च जोखिममा परेका छन् । अत्याधिक वर्षासँगै घरछेउमा पहिरो खसेपछि जैदीका शेरबहादुर राना, इन्द्र राना, मिम राना र पर्वे रानाको घर जोखिममा परेको हो ।

बारीको छेउछाउमा रहेका केही गोठसमेत जोखिममा रहेको स्थानीयवासी दीपेन्द्र परियारले बताए । केहीदिनदेखि निरन्तर परिरहेको वर्षाका कारण बागलुङका विभिन्न क्षेत्रमा स्थानीयवासी प्रभावित छन् । स्थानीय सडकमा ठाउँ–ठाउँमा पहिरो खसेका कारण आवत–जावतमा समस्या भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्