Logo

अरूतिर हेर्दै, प्रचण्डलाई झटारो हान्दै



Spread the love

२६ कार्तिक, काठमाडाैँ । कुनै कुरा पनि ‘गर्दिनँ’ र ‘हुँदैन’ नभन्ने, तर केही नगर्ने–नहुने ! नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक भेटको लागि बालुवाटार पुगेका पाँच वरिष्ठ नेतासँग फेरि पनि यस्तै व्यवहार दोहोर्याएको गुनासो कोटेश्वरतिर सुनिँदै छ ।

शुक्रबार धुम्बाराही पार्टी कार्यालयमा सचिवालयका उपलब्ध नेताहरुले लिएको अध्यक्ष तथा प्रधानमन्त्रीलाई बैठक बोलाउन आग्रह गर्ने निर्णय सुनाउन शनिबार नेताहरु बालुवाटार पुग्दा प्रधानमन्त्रीले त्यस्तो व्यवहार प्रदर्शन गरेको पाँचमध्येका एक नेताले बताए । अघिल्ला बैठक, छलफलमा प्रधानमन्त्रीको हेराई प्रायः प्रचण्डतिर सोझिन्थ्यो । तर, शनिबार आँखासमेत जुधाएनन् । त्यसदिन पटक पटक माधव नेपालतिर हेर्ने, उनीसँगै कुरा गरेजस्तो शैली अपनाए । अर्थात्, प्रचण्डलाई ‘भाउ’ दिएनन् । प्रचण्डचाहिँ आफ्नो भूमिकामै प्रस्तुत भए । सुनाए, ‘हामीले हिजो धुम्बाराहीमा छलफल गरेर यहाँलाई पार्टी सचिवालय बैठक बोलाउन आग्रह गर्दै छाँै । त्यो निर्णय जानकारी गराउन आएका हाँै । बैठक राखौँ, पार्टी र सरकारका विषयमा जे–जे कुरा बाहिर आएका छन्, त्यसबारे संस्थागत रुपमै छलफल गरौँ, निश्कर्षमा पुगौँ ।’ प्रधानमन्त्रीको जवाफ थियो, ‘मैले बैठक बोलाउँदिन भनेर कहिले भनेको छु ?’

यसपछि प्रचण्डकै लयमा माधव नेपाल बोल्न थाले । ‘तपाईंले के भन्नुभयो, के गर्नुभयो, त्यो त हामीले थाहा पायौँ । त्यसैले त सचिवालयका साथीहरु बसेरै बैठक बोलाउन आग्रह गर्ने निर्णय ग¥यौँ । तपाईंले बैठक बोलाएको भए, विभिन्न विषयवस्तुमाथि छलफल गरेको भए, केही निर्णयहरु गरेको र कार्यान्वयन भएको भए किन यसो गर्नुपथ्र्यो ?’, माधवले भने, ‘बैठक बस्नुअघि नै त्यो बैठक हैन, गुटको भेला हो कसले उकास्यो ? आफ्ना पक्षका साथीहरुलाई नजानुस् भनेर कसले भन्यो ? यी कुरा हामीलाई पनि थाहा छ ।’

माधव यसरी कड्किए पनि र प्रचण्ड नरमसँग पेश भए पनि प्रधानमन्त्रीले फेरि पनि माधवतिरै हेर्दै, मुस्कुराउँदै कुरा गर्न थाले । त्यसदिन भेटघाटको शुरुवातबाटै प्रधानमन्त्री हँसमुख र अरु आक्रोशको भावमा देखिनुहुन्थ्यो । झलनाथले भेटको शुरुमै ‘अहिले कस्तो छ ?’ भनेर स्वास्थ्यस्थिति सोध्नुभयो । प्रधानमन्त्रीले नअड्किकन भन, ‘(मिर्गौलाको) ट्रान्सप्लान्ट गरेपछि यो थाक्छ, गल्छ भन्थे । तर, त्यस्तो भएन नि !’ उनले जुँगातिर हात लगे र भने, ‘बरु, फुलिसकेको जुँगा आफैँ कालो भएर पो आयो !’ यसपछि सबै नेता गलल हाँसे ।

हाँसो थामिएसँगै प्रचण्डले अघिल्लो दिन आफूहरु बैठक बस्नुको प्रयोजन र भएको निर्णयबारे विस्तारमा सुनाए । त्यसपछि प्रधानमन्त्रीले माधवतिर हेरेर जवाफ दिए । बैठक बोलाउँछु र बोलाउँदिन भन्नेमा स्पष्ट जवाफ नआएपछि वामदेव गौतमले कुरा निकाले, ‘तपाईंले बैठक बोलाउँछु भने पनि, बोलाउँदिन भने पनि बैठक बस्न नथालुञ्जेल त्यो कुराको कुनै विश्वास नै नहुने भयो ।’ फेरि पनि प्रधानमन्त्रीले ‘बस्ने, समय आएपछि बैठक बस्नुपर्छ’ भन्दै कुरा टार्न थाले । आजको जनआस्थाले ओलीले बालुवाटार छलफलमा अरु नेतालाई हेर्दै प्रचण्डलाई झटारो हान्ने काम गरेको खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्