Logo

पेप्सीकोला–सल्लाघारी सडक ५५ प्रतिशत सम्पन्न



Spread the love

२७ फागुन, काठमाडाैँ । पेप्सीकोलाबाट सल्लाघारीसम्मको सडक विस्तारको भौतिक प्रगति ५५ प्रतिशत पुगेको छ । चालू आवसम्म कालोपत्र सक्ने गरी सो सडकको उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ ।

स्थानीयवासीले जग्गाको समेत मुआब्जा माग गरेर लामो समयसम्म पनि निर्माण अघि बढाउन नदिएकाले अवधि सकिँदा पनि सम्पन्न नभएको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । बीस मिटर चौडाइ कायम गर्ने गरी तीन वर्ष पहिले ठेक्का सम्झौता भए पनि त्यसअनुसार सडक खाली गराउन नसकिएको आयोजनाका सूचना अधिकरी लक्ष्मण देवकोटाले बताए ।

बहाखा बजारबाट सल्लाघारीतर्फ सडक निर्माणका लागि घर भत्काउनुपर्ने थियो । काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणले सडक खाली गराउनुपर्ने भए पनि खाली गराउन सकेको थिएन । निर्माणस्थल खाली नभएकै कारण लामो समयसम्म अवरुद्ध भए पनि गत वर्ष उपलब्ध चौडाइमा कालोपत्र गर्ने सरकारको निर्णयानुसार सडक कालोपत्र भइरहेको छ । उनले भने, “केही ठाउँमा मापदण्डअनुसार भए पनि धेरै ठाउँमा भइरहेको छैन ।”

लामो समयसम्म चौडाइ विवादका कारण निर्माण अवरुद्ध भएकामा सरकारले गत वर्ष बिस्तारका क्रममा रहेका सबै सडक उपलब्ध चौडाइमै कालोपत्र गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा काम अघि बढिरहँदा गत आवमा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसपछि निर्माण सामग्रीको अभाव रहेको थियो । उनले भने, “अहिले समस्या हटेकाले काम भइरहेको छ ।”

चार दशमलव पाँच किलोमिटर लम्बाइको सो सडकको ठेक्का सम्झौता २०७४ साल असारमा भएको थियो । सडकको ठेक्का सम्झौता अवधि गत पुसमा सकिएको थियो । उक्त सडक निर्माणको ठेक्का कान्छाराम पिआर उमा कम्पनी एण्ड जेभीले लिएको थियो ।

काठमाडौँ उपत्यकामा आयोजनाले नौ सडक विस्तारको काम शुरु गरे पनि अहिलेसम्म कुनै पनि सडक सम्पन्न भइसकेका छैनन् ।

काठमाडौँमा तीन र ललितपुरमा पाँच तथा भक्तपुरको एउटा सडक बिस्तार शुरु गरिएको थियो । अहिले भएका सडक सम्पन्न नभएकाले सडक विभागले थप सडकमा बिस्तारको योजना बनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्