Logo

बाढीबाट घर जोगाउन खोज्दा आफैँ बेपत्ता



Spread the love

२४ असार, बागलुङ । बुधबार बिहान ३ः३० बजेको थियो । आकाश गर्जिएर पानी पर्न थालेको तीन घण्टा बितिसक्दासमेत पानी रोकिएन् । खोलाको बहाव बढ्न थाल्यो, घरमाथि रहेको सडकबाट पन्छाएको बाढी घरतिर सोझियो । घरमा बाढी पस्ने त्रासले राजेन्द्रले सुतिरहेका हजुरबुबा, बुबा र भाइलाईसमेत उठाए ।

चारै जना मिलेर घरमाथिको सडकबाट घरगोठतर्फ आइरहेको भल खोलातर्फ लगाए । सडकमा आएको बाढीले घर त जोगियो तर घरछेवैको सानो खहरेमा एक्कासी आएको बाढीबाट राजेन्द्र भने जोगिन सकेनन् ।

बागलुङको ताराखोला गाउँपालिका–३ घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्कीलाई बुधबार बिहान बाढीले बगाउँदा बेपत्ता भएका छन् । “कहिल्यै नआएको पानी अहिले आयो, आरीबाट खन्याएको जस्तै”, वडाध्यक्ष जीतबहादुर बस्नेतले भने, “अलिमाथि पहिरो आएर खोल्सी थुनिएछ, एकै पटक फुटेर आउँदा सत्यानाश ग¥यो ।”

राजेन्द्रसँग सडकको भल तर्काइरहेका उनका बुबा कृष्णबहादुर कार्की, भाइ र हजुरबुबा घाइते भएका छन् । “कृष्णबहादुरलाई बाढीले केही तल पु¥याएर छेउ लगाएको अवस्थामा थिए, हजुरबुबा र भाइलाई पहिल्यै बाढीको हावाले हुत्याएछ”, बस्नेतले भने, “खोरका बाख्रा र राजेन्द्रलाई बाढीले बगाएछ ।”

कृष्णबहादुरको टाउकोमा गहिरो चोट छ । शरीरका अन्य अङ्गमा समेत ससाना चोट लागेकाले स्थानीय स्वास्थयचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

व्यावसायिक बाख्रापालनका लागि भनेर ‘कार्की बाख्रा फार्म’ दर्ता भएको छ । छोरासँगै कृष्णबहादुरले पालेका ४० वटा बाख्रा पनि बाढीले बगायो । एघार बाख्राको उद्धार गरिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । परिवारका छ जना सदस्यलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हवारीले बताए । सोही ठाउँका ध्रुव क्षेत्रीको होटेल पहिराले पुरेको छ ।

प्रतिक्रिया दिनुहोस्