Logo

ट्रक र मोटरसाइकल ठोक्किँदा बाबु र छोराको मृत्यु



Spread the love

३० असार, धादिङ । थाक्रे गाउँपालिका–६ महादेवबेँशीमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा नुवाकोट विदुर नगरपालिका–१३ का नारायण शिवभक्ति र उनका १० वर्षीय छोरा आर्यन शिवभक्ति रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख महेन्द्र खड्काले जानकारी दिए ।

नौबिसेबाट मलेखुतर्फ जाँदै गरेको ना ४ ख ९४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ७३ प २१७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ भने नारायणको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनापछि सडकमा लडेर घाइते भएका बालकको ट्रकले पछि हटाएर किच्दा मृत्यु भएको प्रत्यक्षदर्शी रामचन्द्र रुपाखेतीले बताए । दुर्घटनामा घाइते एक जनाको उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको र उनको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनापछि भाग्दै गरेको ट्रकलाई प्रहरीले कोइराले भन्ने स्थानबाट नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्