Logo

कारबाहीमा पर्यो एनसेल, सबै ग्राहकको मोबाइलमा पैसा फिर्ता पठाउनुपर्ने



Spread the love

४भदाै, काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियाटा लिमिटेडलाई कारबाही गरेको छ । एनसेलले स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याकहरू स्वतः नवीकरण गरेको पाइएपछि प्राधिकरणले कम्पनीलाई कारबाहीस्वरूप नगद जरिवाना गरेको हो ।

बिनाजानकारी ग्राहकबाट विभिन्न प्याकमा उठाएको रु १ अर्ब ११ करोड २९ लाख ७६ हजार ८४९ बराबरको रकम तीन महिनाभित्र सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा फिर्ता पठाउन निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार एनसेलले ग्राहकको मञ्जुरीबिनै गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सेवा तथा प्याकहरू अटो रिन्यू (नवीकरण) हुने गरी सञ्चालन गरेको र यसबाट आफूहरूसमेत ठगिन पुगेको भनी विभिन्न माध्यमबाट प्राधिकरणमा उपभोक्ताहरूले गुनासो गरेका थिए ।

सोही गुनासोका आधारमा प्राधिकरणले एक निरीक्षण समिति बनाएर अध्ययन गरेको थियो । अध्ययनका क्रममा सोही गल्ती गरेको पाइएपछि ग्राहकबाट उठाएको रकम फिर्ता गर्न निर्देशन दिइएको हो ।

गेमलफ्ट नामको भ्यास सेवाअन्तर्गत तीन दिन रिन्यू र साप्ताहिक रिन्यूका प्याकहरू २०७५ असोज १५ गतेदेखि २०७७ सालको जेठ १८ गतेसम्म सो सेवा सञ्चालन गरी रु ११ करोड ३७ लाख ४८ हजार ९८६ बराबर आर्जन गरेको थियो । यस्तै, ह्वावे एप ग्यालरी नामबाट २०७५ असोज १५ गतेदेखि २०७७ साल जेठ १८ गतेसम्म अटो रिन्यू हुने गरी रु ९९ करोड ९२ लाख १८ हजार ८६३ आर्जन गरेको थियो ।

विसं २०७५ असोज १५ गतेको पत्रमार्फत सो कम्पनीबाट सञ्चालित भ्यासअन्तर्गतका सेवाहरू अटो रिन्यू हुने गरेको पाइएको भन्दै प्राधिकरणले सो सेवा तत्काल बन्द गर्न दिइएको निर्देशन किन पालना नगरेको र यसरी प्राधिकरणको निर्देशन पालना नगरेकाले दूरसञ्चार ऐनअनुसार किन कारबाही नगर्ने भनी पुनः २०७८ को असार १७ गते स्पष्टीकरण सोधेको थियो ।

यस्तैगरी प्राधिकरणले अटो रिन्यू उक्त कार्य दूरसञ्चार ऐन २०५३ विपरीत रहेको भन्दै कानुनबमोजिम रु ५० हजार जरिवानासमेत गरेको छ । विसं २०७७ जेठ १८ गतेदेखि हालसम्म प्रत्येक ग्राहकबाट के कति आय आर्जन भएको छ, सोको विवरण १५ दिनभित्र पेस गर्नसमेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्