Logo

राष्ट्रपतिमा विद्यादेवी भण्डारी अत्यधिक मतले विजयी



Spread the love

वाम गठबन्धनकी साझा उम्मेदवार विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । मंगलवार सम्पन्न निर्वाचनमा प्रतिष्पर्धी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईलाई पराजीत गर्दै भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी हुन् ।

भण्डारीले ३९ हजार २७५ मतभार प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी नेपाली काँग्रेसकी नेत्री कुमारीलक्ष्मी राईले ११ हजार ७३० मत प्राप्त गरेकी छन् ।

भण्डारीलाई २४५ संघीय सांसद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए । राईलाई भने ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् । तीन संघीय सांसद र ५ प्रदेशसभा सदस्यको मत भने बदर भएको छ ।

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् ।

संघीय संसदको एक सदस्यको मतभार ७९ छ भने प्रदेशसभा सांसदको मतभार ४८ छ ।

स्वतन्त्र सांसद डा बाबुराम भट्टराई सहित संघीय संसदका ५ र प्रदेश सभाका १४ सांसद मतदानमा अनुपस्थित थिए ।भण्डारीको पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाले मतदान गरेका थिए । नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए ।

यस अघि उनी संविधान घोषणा पछि २०७२ कात्तिक ११ गते राष्ट्रपति चयन भएकी थिइन्। त्यति बेला रुपान्तरित संसदले उनलाई राष्ट्रपति चयन गरेको थियो।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । शपथको समय बुधवार दिउँसो ४ बजेका लागि तोकिएको छ । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ गराउने प्रचलन छ ।

 

निर्वाचनको मतपरिणामको आधिकारिक घोषणा हुन भने बाँकी छ।

प्रतिक्रिया दिनुहोस्