Logo

कोरोना सङ्क्रमणदर पुनः बढ्यो



Spread the love

३० भदाै, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर ह्वात्तै बढेको छ । मंगलबार त्यहाँ थप ७० मा सङ्क्रमण पुष्टि भएको हो । सोमबारको तुलनामा मङ्गलबार तेब्बरभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोमबार यहाँ २२ जनामा सङ्क्रमण देखिएको थियो ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार २२ जनाको नमूना परीक्षण गर्दा ७० जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआर विधिमार्फत ४१ र एन्टीजेन विधिमार्फत २९ मा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत गरिएको परीक्षणमा सेती प्रादेशिक अस्पतालमा २६, जिल्ला अस्पताल बैतडी र डडेल्धुरा अस्पतालमा पाँच/पाँच, महाकाली अस्पतालमा तीन र कमलबजार अस्पतालमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै एन्टीजेन विधिमार्फत गरिएको परीक्षणमा कञ्चनपुरमा २०, दार्चुलामा छ, कैलाली बाजुरा र बझाङका एक/एक जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । गएको २४ घण्टामा प्रदेशभर २४ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्