Logo

एमालेलाई लक्षित गर्दै माधव नेपालले भने, ‘जो हमसे टकराएगा चुर चुर हो जाएगा !’



Spread the love

८ मंसिर, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताएका छन् ।

धनुषाको विदेह नगरपालिकास्थित तिनकौरियामा आयोजित सभामा अध्यक्ष नेपालले भने, “नेकपा एमाले विदेशीको दलालीमा लाग्यो । त्यसैले पुरानो घर त्यानुपरेको हो ।” अध्यक्ष नेपालले अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडि बढेको बताउँदै भने, “न्याय र सत्यको जित अवश्य हुनेछ ।” नेपालले आफू ५२ वर्षदेखि कम्युनिष्ट आन्दोलनमा लागेको उल्लेख गर्दै भने, “ठूला ठूला काम गरेका छौँ । राजाको शासन उखेलेर फाल्यौँ ।”

उनले हिन्दी शैलीमा भने, “जो हमसे टकराएगा चुर चुर हो जाएगा ।” उनले आफूहरु प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभिएको बताए । अध्यक्ष नेपालले नेकपा एकीकृत समाजावदीले जहिल्यै जनताको सुःख दुःखमा साथ दिने प्रतिबद्धता जनाए । कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सिर्जना गरी सबैको जीवन राम्रो बनाउन आफूहरु लागि परेको उनको भनाइ थियो । कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चिह्न कलम लिएर जनतामाझ आएको उनको भनाइ थियो ।

उनले अब पालिका, राष्ट्रियसभा, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै चुनावमा जितेपछि जनताको काम गर्ने, सिँचाइ र मलखादको व्यवस्था गर्ने पनि बताए । नेपालले विरोधीले कान लिएर काग भाग्यो भनेपछि कागको पछाडि दौडिन नहुन कार्यकर्तालाई सुझाव दिँदै हिम्मत र बुलन्दीको साथ अगाडि बढेपछि जित हुने बताए । अध्यक्ष नेपालले गठबन्धन सरकारले राजनीतिक नियुक्तिको काममा ढिलाइ गरिरहेको बताए । उनले विभिन्न पार्टीको आ–आफ्नो कामको व्यस्तताले गर्दा सरकारको कामकाजमा पनि प्रभाव परिरहेको स्वीकार गरे ।

अध्यक्ष नेपालले राज्यसँग जोडिएका कामलाई सरकारले छिटोभन्दा छिटो गर्नुपर्नेतर्फ ध्यान पुर्याउन आवश्यक रहेको धारणा व्यक्त गरे । अर्को प्रसङ्गमा नेपालले राष्ट्रियसभामा गठबन्धनका सबैले साझा उम्मेदवार तय गरेर अगाडि बढ्ने बताए । उनले उपनिर्वाचनमा पनि पाँच दलीय गठबन्धन मिलेरै अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष नेपालले मुलुकमा सङ्घीयता, लोकतन्त्र तथा समावेशीताको रक्षा गर्दै जनताको अधिकार स्थापित गराउनका लागि वर्तमान गठबन्धनको सरकार बनेको जिकिर गरे । गठबन्धन आउँदो चुनावसम्मै कायम रहने पनि नेपालले बताए ।

सो अवसरमा नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री रामचन्द्र झा आज औपचारिकरूपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्नुभयो । समाजवादीले झालाई यसअघि नै पार्टी सचिवालय सदस्यमा मनोनीत गरिसकेको थियो । पार्टीले कात्तिक २८ गते नै झालाई समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरिसकेको थियो ।

झासहित दुई हजारभन्दा बढी कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको दाबी गरिएको छ । झालाई समाजवादीका अध्यक्ष नेपालले फूल माला लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

यस्तै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रबाट वरिष्ठ दन्त चिकित्सक डा अजयकुमार झाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरेर करिब ५०० समाजवादीमा प्रवेश गरेको पनि पार्टीले दाबी गरेको छ । डा झा नेविसङ्घ धनुषाका जिल्ला अध्यक्षसमेत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्