Logo

न्युजिल्याण्डद्वारा पर्यटकका लागि सिमा नाका खुल्ला



Spread the love

२ चैत, एजेन्सी । न्युजिल्याण्डले पर्यटकहरूका लागि सिमा नाका खुल्ला गर्ने भएको छ ।

कोरोनाभाइरसको महामारीका कारण लामो समय सिमा नाका बन्द गर्दैआएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सिमा नाका खुल्ला गर्ने निर्णय गरेको हो ।

त्यसैगरी विदेशी पर्यटकहरुलाई स्वदेश प्रवेशमा रोक लगाउँदा अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले अर्थतन्त्रमा सुधार गर्न पनि सिमा नाका खुल्ला गर्नुपरेको अधिकारीले जनाएका छन् ।

अष्ट्रेलियाका विद्यालयमा विदाको समय सुरु भएकै बेला न्युजिल्याण्ड सरकारले यस्तो निर्णय गरेको हो ।

स्थानीय समय अनुसार आगामी अप्रिल १२ तारिखको राति ११.५९ देखि अष्ट्रेलियाका नागरिकलाई न्युजिल्याण्ड घुम्न दिने निर्णय भएको प्रधानमन्त्री जसिन्दा अर्डेर्नले बुधबार जानकारी दिइन् ।

उनका अनुसार त्यसको साढे दुई हप्तापछि खोप लगाएका छ देशका पर्यटकहरुलाई पनि न्युजिल्याण्ड प्रवेश गर्न दिइने छ ।

न्युजिल्याण्डले दोस्रंो चरणमा बेलायत, अमेरिका, जापान, जर्मनी, दक्षिण कोरिया र सिङ्गापुरका पर्यटकहरुलाई प्रवेश खुल्ला गर्ने भएको हो ।

“कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न हामीले दुई बर्ष आगाडि सवैभन्दा सुरुमा लिएका निर्णयहरूमध्ये सिमा नाका बन्द गर्ने निर्णय पनि एक हो,” उनले भनिन् ।

अहिले धेरै देशमा महामारी निकै कम भएको, आफ्नो देशमा पनि नियन्त्रणमा आइसकेको र अधिकांश मानिसले खोप पनि लगाइसकेको भएकाले नाका बन्द गरिरहनु उचित नहुने ठानेर नाका खुल्ला गर्ने निर्णय गरिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्