Logo

माओवादी पहिलो शक्ति बन्ने सम्भावना देखिएको छः प्रचण्ड



Spread the love

६ चैत, पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन् ।

प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनको वैशाखी टेकेर नभइ आफ्नै शक्ति, सङ्गठन र मुद्दाका आधारमा माओवादीले निर्वाचन लड्ने तयारी गरेको उल्लेख गरे ।

अध्यक्ष दाहालले भने,“देशव्यापी माओवादीप्रति सकारात्मक जनमत बढ्दै गएको छ, कार्यक्रममा उभार देखिएको छ । केही समयपछि अन्य पार्टीहरु माओवादीसँग तालमेलका लागि आउने परिस्थिति आउँदैछ अरु पार्टीसँग जाने होइन । माओवादी पहिलो शक्ति बन्ने सम्भावना देखिएको छ ।”

उनले केही दिनअघि एक कार्यक्रममा आफूले राजनीतिक र सैद्धान्तिक रुपमा एमालेसँग गठबन्धन हुन्छ भने पनि तत्कालका लागि भने गठबन्धन सम्भव नभएको उल्लेख गरे । अध्यक्ष दाहालले आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने र निर्वाचनका बारेमा कुनै पनि दुविधा नरहेको बताए ।

उनले भने, “कतिपय वृत्तमा अझै पनि निर्वाचन के हुन्छ भन्ने छ तर निर्वाचन तोकिएको मितिमै हुन्छ, सम्पूर्ण रुपले निर्वाचन प्रक्रियामा सामेल हुन र तयारीमा लाग्न सबैमा म अपिल गर्दछु ।”

स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरेर माओवादीले प्रदेशस्तरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम अघि बढाएको बताउँदै उनले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्