Logo

कविता



Spread the love

mahendra-babu

निधारबाट पसिनाको
नहर बगाएर
मेरो जिन्दगी हरियाली बनाउने
ए मेरा बा !
तिमी सङ्ग जिवनको
न कुनै मिठास थियो
न त कुनै उल्लास ,
तै पनि निस्पष्ट अध्यारोमा
अपहत्ते जिन्दगीले
रङ्गविहिन क्यानभासमा
रङ्गहरुको संघर्ष गराउदै
सुन्यता भित्र
जिवनको स्वाद खोजिरहेछौ
मलाई थाहा छ
तिम्रो फाटेको सुरुवाल भोटी भित्र
आर्थिक खाडल छन्
धार्मिक खाडल छन्
जातीयताका खाडल छन्
बर्गिएताका खाडल छन्
तै पनि,
मौनता र स्तब्धताभित्र
अल्झिएको तिम्रो जिन्दगी
निराशका बादलहरु पन्छाएर
आसाहरुको जुलुसमा
सुख र शान्तिको उत्सव मनाउने प्रतीक्षामा छ

तर ए मेरा बा,
अस्तित्वको लडाई
सबैभन्दा भीषण हुदो रहेछ,
चिल्ला कार र अग्ला पर्खाल भित्र
सुट बुटमा सजिएका
सुकिला मुकिलाहरुकै साम्राज्यमा
तिम्रा सपनाहरू आजिवन बन्दी
हुने त हैनन ?

बा !
ति सशस्त्र दुश्मन सङ्ग
म डराएको हैन
ति चुनौतीका पहाडहरुमा
मेरो खुट्टा कापेको छैन
तिम्रा सपनाहरुलाई सिद्धान्त बनाएर
जन्मिएको योद्धा म
मेरो दर्शन तिम्रा चहानाहरु
मेरो लक्ष्य तिम्रा खुसिहरु

ए मेरा बा !
मलाई डर छ
कतै मेरो हार सङ्ग
तिम्रो अस्तित्व नामेट नहोस,
कतै मेरो मृत्यु सङ्ग
तिम्रो सपनाहरु नसेलाउन,
म चहान्छु
यदि हार्नु नै परेपनी
मेरो हारमा
तिम्रो जित होस
यदि मर्नु नै परेपनि
मेरो मृत्युमा
तिम्रो सपना पूरा होस

प्रतिक्रिया दिनुहोस्