Logo

बराबरीको अडानबाट माओवादी पछि हट्यो



Spread the love

एमालेसँगको एकीकरणमा बराबरीको अडान राखेको नेकपा (माओवादी केन्द्र) त्यसबाट पछि हटेको छ । माओवादी नेताहरूले बराबरीको सट्टा एमालेसँग सम्मानजनक एकीकरण हुनुपर्ने प्रस्ताव गरेका छन् । एकीकृत पार्टीमा कुन दलको कति सदस्य रहने भन्ने विवादका बीच माओवादी केन्द्रले एकताको आधार ‘सम्मानजनक’ हुनुपर्ने प्रस्ताव गरेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा एकताको विषयमा छलफल गर्न आइतबार बैठक बसेको थियो ।

एकता अङ्क गणितका आधारमा होइन, सम्मानजनक हुनुपर्छ भन्ने हिसाबले बैठकमा छलफल भएको माओवादी नेता विश्वनाथ साहले बताउनुभयो । बैठकमा अध्यक्ष प्रचण्डले एकता हुँदा दुईचार पद तलमाथि हुनसक्ने
बताउनुभएको थियो । दुई पार्टीबीच एकीकरण गर्ने सहमतिसँगै भएको चुनावमा एमालेले ६० प्रतिशत सिट र माओवादीले ४० प्रतिशत सिटमा चुनाव लडेका थिए । एमालेले अहिले एकीकरण प्रक्रिया पनि यही बाँडफाँटमा हुनुपर्ने प्रस्ताव गरेको छ भने माओवादी केन्द्रले ६०/४० को हिसाब चुनावका लागि मात्रै भएको दाबी गर्दै बराबरीको अडान राखेको थियो ।
माओवादी अध्यक्ष प्रचण्डले एकता संयोजन समितिको बैठक र त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तीन दिन लगातार भएका छलफलका विषयलाई बैठकमा ‘ब्रिफिङ’ गर्नुभएको थियो । एकताका लागि प्रधानमन्त्री ओली सकारात्मक रहेको र यसलाई चाँडै टुङ्ग्याउनुपर्ने पक्षमा रहनुभएको पनि अध्यक्ष प्रचण्डले बैठकमा बताउनुभयो ।
माओवादी प्रवक्ता पम्फा भुसालले कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि एकता संयोजन समिति र अध्यक्षद्वयको बीचमा व्यापक छलफल हुन बाँकी रहेकाले दुई पार्टीको एकताका लागि अझै केही समय लाग्ने बताउनुभयो ।
प्रवक्ता भुसालले गृहकार्यका लागि केही समय लाग्ने भएकाले एकताको मिति ठ्याक्कै तोक्न नसकिनेसमेत बताउनुभयो । उहाँले छलफलपछि दुई पार्टीका अध्यक्षको सहमतिमा एकताको मिति तोकिनेसमेत बताउनुभयो ।
दुई फरक धारका पार्टीबीच एकीकरण हुन लागेको र त्यसमा हतारिन नहुने धारणा अध्यक्ष प्रचण्डले बैठकमा राखेको समेत प्रवक्ता भुसालले जानकारी दिनुभयो । “दुवै पार्टीका नेता, कार्यकर्ता र जनताको भावना र राष्ट्रिय आवश्यकताअनुसार पार्टी एकता हुन्छ र त्यो सिद्धान्तनिष्ठ, समानता, सम्मानजनक र न्यायोचित आधारमा हुन्छ”, अध्यक्ष प्रचण्डले बैठकमा भन्नुभएको थियो ।
एकीकरण प्रक्रियामा जनयुद्ध शब्दमा खासै विवाद नरहेको नेता साहले जानकारी दिनुभयो । पार्टी विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्न एमाले सकारात्मक भएको बताउँदै त्यसलाई कसरी राख्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको नेता साहले जानकारी दिनुभयो । उहाँले चुनाव चिह्नको विषयमा पनि खासै समस्या नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्