Logo

छपियो ८० प्रतिशत मतपत्र



Spread the love

१२ वैशाख, काठमाडाैँ । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि हालसम्म ८० प्रतिशत मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ कार्य सकिएको आयोगले जनाएको छ । बाँकी जिल्लाको मतपत्र छाप्नेक्रम जारी रहेको छ । निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ । काठमाडौँसहित छ वटा महानगरपालिकाका लागि आवश्यक पर्ने मतपत्र मनोनयन दर्ता कार्य सकिएपछि छपाई गरिनेछ । ती तहका मतपत्रमा पनि पुरानै डिजाइनअनुसार हुनेछ ।

उम्मेदवारले निर्वाचन प्रचार गर्ने अवधिभन्दा १५ दिनअघि मतपत्र पुगिसक्नुपर्ने व्यवस्था, मुद्रण क्षमता र मुलुकको दूरदराजका पालिकामा सुरक्षितरुपमा ढुवाली गर्नुपर्ने भएकाले मनोनयन दर्ता सकिएपछि मतपत्र छपाइ गर्न सम्भव नहुने भएकाले आयोगले मनोनयन दर्ता अघि नै मतपत्र छपाइ कार्य गरेको हो । विभिन्न राजनीतिक दलका तर्फबाट आफूहरू गठबन्धनमा उम्मेदवारी दिने भएकाले उम्मेदवारी दिइएपछि उम्मेदवारीको सङ्ख्या र निर्वाचन चिह्नका आधारमा मतपत्र छाप्न गरिएको आग्रहमा आयोगले असमर्थता जनाएको छ ।

निर्वाचन सामग्री जिल्ला जिल्लामा

निर्वाचन आयोगले जिल्लामा निर्वाचन सामग्री पठाउनेक्रम भने पूरा गरेको छ । आज दिउँसोसम्म पाल्पा र पर्वत गरी ७६ जिल्लामा सामग्री पठाइएको छ भने बाँकी रहेको अर्घाखाँची जिल्लाको सामग्री आजै पठाइने छ । सामग्री पठाइएपछि वैशाख १३ गतेदेखि मतपत्र ढुवानी सुरु गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले यही वैशाख ८ गतेदेखि निर्वाचन सामग्री लोड गरेर पठाउन थालेको हो । उपसचिव कृष्णप्रसाद सापकोटाका अनुसार १० गतेसम्म पठाइएका सामग्री सम्बन्धित स्थानमा प्राप्त भएको जानकारी आएको छ भने ११ गते पठाइएका कतिपय ट्रकहरु पुग्ने क्रममा छन् ।

आयोगले कम मतदाता भएका र भौगोलिकरुपमा साना मानिने जिल्लामा एक र ठूला जिल्लामा दुईदुई ट्रकमा सामान पठाएको छ । कान्तिपथस्थित आयोगबाट लगबुक भराएर छुट्ने ती हरेक ट्रकमा सामानको सूचीसहित आयोगका कर्मचारीसमेत सवार हुन्छन् । उनीहरूलाई मोबाइल–ट्रयाक गरी कुन ट्रक कतिबेला कहाँ पुग्यो वा बाटामा कुनै समस्या भए नभएको प्रविधिबाट सूचित हुने प्रबन्ध गरिएको छ । ती सामानलाई आवश्यकताअनुसार सुरक्षा गस्ती पनि दिइएको हुन्छ र सम्बन्धित पालिकामा निर्वाचन अधिकृतले बुझेको विवरण आयोगलाई दिनुपर्छ ।

आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार २०७९ साल वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्धारण गरिएकोमा सो कार्य आज ५ बजेसम्म सम्पन्न हुँदैछ । वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । यी सबै कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्