Logo

कञ्चनजङ्घाको आधार शिविरमा पुगे ४७ आरोही



Spread the love

१४ वैशाख, कञ्चनजङ्घा । कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् । यस वर्ष यतिधेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकैपटक आधार श्वििर पुगेका हुन् ।

दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुग्ने गर्छन् । दक्षिणी पदर्माग हुँदै ३६ आरोही कञ्चनजङ्घा आधार शिविर पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तापेथोक जाँचचौकीका पर्यटन सहायक कल्पना ताम्मादेनले जानकारी दिए । आधार शिविरमा भारतका पाँच, अमेरिकाका एक, जर्मनीका तीन, रोमानियाका दुई, अष्ट्रेलियाका तीन, नेदरल्याण्डका तीन, क्यानडाका दुई जनालगायत पुगेको उनले बताए ।

केही आरोहीले गत साता नै आधार शिविर पुगेर आरोहणको तयारी थालेका छन् । यस्तै उत्तरी पदर्माग हुँदै रोमनियाका ६ र बेलायतका पाँच आरोही आधार शिविरमा पुगेको याम्फुदिन जाँचचौकीका पर्यटन सहायक सूर्यमान राईले बताए । कञ्चनजङ्घा आरोहणका लागि ६७ जनाले अनुमति लिएका छन् । आधार शिविर आउने क्रम जारी रहेको छ । समिरबहादुर बस्नेत नेतृत्वको नौ सदस्यीय नेपाली टोलीले पनि कञ्चनजङ्घा आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्