Logo

‘खेर गएको पाँच वर्षको जिम्मेवारी ओलीले लिनुपर्छ’



Spread the love

१४ वैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विसं २०७४ को स्थानीय निर्वाचनदेखि अहिलेसम्म खेर गएको पाँच वर्षको जिम्मेवारी तत्कालीन समयको नेतृत्वले बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्पर्क समन्वय समितिले आज यहाँ आयोजना गरेको ‘स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रममा उहाँले पाँच वर्षको नेतृत्व गरेको दलले गन्तव्यमा नलगी बीचमा छोड्दा देश र जनताको समय खेर गएको बताए ।

“यसैले अबको पाँच वर्ष कांग्रेसले काम गर्ने जिम्मेवारी प्राप्तिका लागि सङ्कल्प पत्र लिएर जनतामा आएका छौँ, अबको पाँच वर्षमा हामीले पनि जिम्मेवारी पूरा नगरे तल झार्नुस्, अबको पाँच वर्ष स्थानीय तहमा कांग्रेसले असल शासन, जवाफदेहिता, पारदर्शिताजस्ता विषयलाई पूर्णरुपमा पालना गराउनेछ”, महामन्त्री थापाले भने ।

पैसा खर्च गरेर चुनाव जिती स्थानीय सरकारबाट उठाउने चाहना नराख्न पनि उनले पार्टीका तर्फबाट चुनाव लड्न लागेका नेता, कार्यकर्तालाई निर्देशन दिए । स्थानीय तह निर्वाचनमा जित्ने जनप्रतिनिधिलाई राखेर घोषणापत्रमा उल्लेख भएअनुसार काम गराउन कार्यशाला गोष्ठी गरी जिम्मेवारी दिने गरी प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा कार्यक्रम बनिसकेको जानकारी पनि महामन्त्री थापाले गराए ।

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको टिप्पणीप्रति भने, “घोषणापत्रमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीका झुटलाई चुनौती दिइएको छ ।” एमाले अध्यक्ष ओलीलाई प्रशंसामात्र सुन्ने बानी परेकाले सत्य पचाउन गाह्रो भएको उनको टिप्पणी थियो । ओलीका झुटको पर्दाफास घोषणा पत्रमा गरिएकाले रिसाएको बताउँदै थापाले वृद्ध शरीरको ख्याल गर्न सल्लाह दिए ।

पूर्वप्रधानमन्त्री ओलीको समृद्धिमा भ्युटावरको अहङ्कार रहेको उल्लेख गर्दै कांग्रेसले अघि सारेको समुन्नतिमा भुँइबाट देश प्रेमको भावना रहेको घोषणापत्र निर्माण समिति संयोजकसमेत रहनुभएका उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्