Logo

गाउँलेको कुटपिटबाट युवकको मृत्यु, आरोपित पक्राउ



Spread the love

१५ वैशाख, सप्तरी । सप्तरीको खडक नगरपालिकाका गाउँलेको कुटपिटबाट आज एक युवकको मृत्यु भएको छ । खडक–४ पंसेराका रामअशिष पासवानको छोरा २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । कुटपिटका आरोपितमध्ये स्थानीय दिलीप चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ ।

घटनाको गम्भीररूपमा अनुसन्धान भइरहेको र फरार अन्य आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अविनारायण काफ्लेले बताए । सोमबार राति विवाहमा डिजे बाजा बजाएर नाचेको र जन्तीलाई रोकेका विषयमा दुई पक्षबीच झगडा भएको स्थानीयवासीले बताएका छन् । गाउँलेले झगडा छुटाएपछि पुनः अबेला राति हुल बाँधेर आएका आरोपितले सन्तलाललाई नियन्त्रणमा लिएर कुटपिट गरेको परिवारका सदस्यले बताएका छन् ।

कुटपिटबाट पासवानको शरीरको विभिन्न भागमा चोटपटक लागी गम्भीर घाइते भई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेकामा आज चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक काफ्लेले बताए ।

आरोपितलाई कडा कारवाही गर्न माग गर्दै गाउँलेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमाहा चोकमा आज अपराह्न आधा घण्टा चक्काजाम गरेका थिए । मृतकको विराटनगरस्थित कोसी अस्पतालमा आज शव परीक्षण भएको छ । शव गाउँ ल्याउने तयारी भइरहेको मृतकका परिवारका सदस्य छतिशलाल पासवानले बताए ।

प्रतिक्रिया दिनुहोस्