Logo

भत्ता पाउन वृद्धलाई सास्ती



Spread the love

३१ जेठ, बैतडी । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता बुझ्न ज्येष्ठ नागरिकलाई निकै सास्ती भएको छ । बैतडीको दुर्गम क्षेत्रमा नजिकमा बैंक नहुँदा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता बुझ्न असहज भएको हो ।

सिगास गाउँपालिकाका नागरिकले भत्ता बुझ्न तीन दिनसम्म लाग्ने गरेको गुनासो गरेका छन् । गाउँपालिकाले वडा नम्बर २ गाँजरीस्थित कृषि विकास बैंक शाखाबाट सामाजिक सुरक्षा वितरण गर्दै आएको छ । सडक सुविधा नभएकाले उनीहरुलाई भत्ता बुझ्न समस्या हुने गरेको छ । “काम गर्न तीन दिनसम्म लाग्ने गरेको छ”, सिगास गाउँपालिका–६ थलाकडाका कले लुहारले भने, “सडक सुविधा नहुँदा समय बढी लाग्ने गरेको छ ।”

सरकारले बैंकबाट मात्रै सामाजिक सुरक्षा भत्ता बुझ्ने नियम बनाएपछि दुर्गम क्षेत्रका नागरिकलाई समस्या भएको छ । बैंकको पहुँचभन्दा टाढा भएकालाई समस्या भएको सिगास–७ का ज्येष्ठ नागरिक महा लुहारको भनाइ छ । उनले भने, “बैंकमा लामो समय लाइन बस्नुपर्छ, कहिले इन्टरनेट हुँदैन, कहिले विजुलीको समस्या छ भन्छन् ।”

सिगास–५,६,७, ८ र ९ का बासिन्दलाई बैंक टाढा हुँदा समस्या छ । जिल्लाका सबैजसो ठाउँमा सामाजिक सुरक्षा भत्ता बुझ्न समस्या भइरहेको छ । बिजुलीबत्ती नहुँदा सोलारको भरमा काम गर्नुपरिरहेको गाँजरीस्थित कृषि विकास बैंकका प्रमुख शेरसिंह साउदले बताए । उनले भने, “बिजुली पुगेको छैन । सोलारको भरमा काम गर्नुुपरिहेको हुन्छ । घाम नलागेको बेला सोलारले काम नगर्दा झन् समस्या हुन्छ । इन्टरनेट सेवा पनि दू्रत गतिको छैन । यसबाट सेवाग्राहीलाई सास्ती हुने गरेको छ ।”

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती भएकाले बैंकसित समन्वय गरेर वडा कार्यालयमार्फत गाउँमै भत्ता वितरण गर्नुपर्ने सेवाग्राहीको माग छ । सेवाग्राहीको मागअनुसार गाउँपालिकाबाट निर्णय गरेर गाउँमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन पहल भइरहेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।

प्रतिक्रिया दिनुहोस्