Logo

राससका समाचारदातामाथिको आक्रमणप्रति निन्दा



Spread the love

 

राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि भएको साङ्घातिक आक्रमणप्रति नेपाल प्रेस युनियन शाखाले निन्दा गरेको छ ।

युनियनका केन्द्रीय सदस्यसमेत रहेका कार्की आज बिहान करिब ९ः३० बजे बनेपा नगरपालिका वडा नं ८ स्थित बसपार्क नजिकैको चामुण्डा हार्डवेयरमा  सामान किन्न पुगेका बेला भक्तपुरको सूर्यविनायक नगरपालिका–१० घर भएका उद्धव कार्कीले अन्धाधुन्ध आक्रमण गरेका थिए ।

आक्रमणकारी कार्की बनेपा नगरपािलका वडा नं १४ साँगास्थित नेपाल प्रहरी विद्यालयमा नेपाली शिक्षक पदमा कार्यरत रहेको युनियन शाखा अध्यक्ष मोहिनी मिश्र रिसालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पत्रकार कार्कीमाथि आक्रमण गर्दा उद्धवले हेलमेट र मास्क लगाएका थिए । पुरानो हिसाब चुक्ता गर्छु भन्दै उनी आक्रमणमा उत्रिएका थिए ।

युनियनले आक्रमणकारीलाई कानूनी कारबाही गर्न, पीडकबाट उपचार गराई क्षतिपूर्ति दिन र अब आइन्दा सञ्चारकर्मीमाथि हुने यस्ता हर्कत नदोहोरिने वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

पसलमा सामान किनिरहेका बेला पछाडिबाट टाउकोमा प्रहार गरी पुरानो हिसाब चुक्ता गर्नु छ भन्दै निरन्तर आफूमाथि प्रहार गरिएको कार्कीले जानकारी दिनुभयो ।

आक्रमण लगत्तै उद्धवले घाइते कार्कीका कान्छा भाई श्रीरामलाई फोन गरी परिवारका सबै सदस्यलाई एक–एक गरी ढाल्ने धम्कीसमेत दिएको बताइएको छ । कार्की आजै धुलिखेल अस्पतालमा उपचारपछि घरमा आराम गरिरहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बेला सञ्चारकर्मीमाथि हुने यस्ता गतिविधिले सञ्चार कर्ममा अवरोध गर्ने, आतङ्कित समेत बनाउने भएकाले यस्ता गतिविधि रोकी स्वतन्त्र रुपमा निष्पक्ष भई कलम चलाउने वातावरण बनाउन पनि युनियनले सरकारसँग जोडदार माग गरेको छ ।
-रासस

प्रतिक्रिया दिनुहोस्