Logo

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण



Spread the love

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानका बारेमा सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।

 

बैठकमा विशेष समय लिएर बोल्दै सांसद चक्रप्रसाद स्नेहीले हलिया मुक्तिको घोषणा गरिएको लामो समय भए पनि उनीहरुको उचित व्यवस्थापन नभएकामा गुनासो गर्नुभयो ।

सरकारले हलियालाई रु तीन लाख र घर मर्मतका लागि रु एक लाख दिने व्यवस्था गरेको भए पनि सरकारी कर्मचारीले सोही रकममा समेत घुस मागेको भन्दै उहाँले आपत्ति प्रकट गर्नुभयो ।

सांसद स्नेहीले घुस माग्ने सरकारी कर्मचारीलाई कडा कारवाही गर्न माग गर्नुभयो ।
सांसद जीतेन्द्रनारायण देवले सर्वोच्च अदालतका तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक योग्यताको प्रमाणपत्रको उचित छानबिन गर्नुपर्ने माग गर्नुभयो ।

जोशीको शैक्षिक योग्यताको प्रमाणपत्रको बारेमा प्रश्न उठेपछि त्यसलाई परीक्षण गर्नुपर्नेमा त्यसो नगरेर बहुमतको बलमा संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेकोमा उहाँले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो “जोशीले समेत आफ्नो प्रमाणपत्र छानबिन गर्न माग गर्नुभएकाले तत्काल छानबिन गरी सत्यतथ्य जानकारी गराउनु पर्दछ । संवैधानिक परिषद्को अध्यक्षको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले समेत स्पष्ट पार्नुपर्छ ।”

राजनीति गणितका आधारमा नचल्ने भन्दै सांसद देवले राजनीतिलाई गणितको आधारमा नचलाउन आग्रह गर्नुभयो । सांसद वृजेशचन्द्र लालले तराई मधेशका नागरिकले नागरिकता नपाएकोमा गुनासो गर्नुभयो ।

सांसद विमला राई पौडेलले कञ्चनपुरमा पटकपटक बालिकाको बलात्कारपछि हत्या भएको भन्दै सरकारले कुनै पनि अपराधका बारेमा जानकारी नदिएको भन्दै गुनासो गर्नुभयो ।

उहाँले बलात्कारको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न र सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो । बलात्कार गर्नेलाई कडा कारवाही गर्न आग्रह गर्दै उहाँले विद्यमान कानूनमा सजाय कम भएकाले जन्मकैदको व्यवस्था गर्न सुझाव दिनुभयो ।

सांसद भैरवसुन्दर श्रेष्ठले गत शनिबार जाजरकोट जिल्लामा पहिरोमा परी नौ जनाको निधन भएको भन्दै अव्यवस्थित तवरले निर्माण गरिएका सडकका कारण पहिरो आउने क्रम बढ्दै गएको सदनलाई जानकारी गराउनुभयो ।

उहाँले निर्माण व्यवसायीको लापर्वाहीका कारण जाजरकोट–जुम्ला सडकखण्ड अवरुद्ध भएको, जाजरकोट–डोल्पा जोड्ने सडकखण्डमा समेत निर्माण व्यवसायीले ज्यादती गरेको र पहिरोको कारण समस्या पैदा भएको भन्दै त्यस्ता व्यवसायीलाई कारवाही गर्न माग गर्नुभयो ।

अर्का सांसद राधेश्याम अधिकारीले कञ्चनपुरमा बालिका बलात्कारको विषयमा सरकारको धारणा सदनलाई जानकारी गराउन माग गर्दै काँडाघारीमा पछिल्लो पटक निशान खड्काको हत्या प्रकरणमा जोडिएका पात्र र प्रवृत्तिका बारेमा पनि उचित जवाफ गृहमन्त्रीले दिनुपर्ने माग गर्नुभयो ।

सांसद रामलखन चमारले नवलपरासीको गण्डक नहरका कारण भएको कटान, डुबानका कारण स्थानीयवासी समस्यामा परेको, समस्या समाधानका लागि पहल नभएको भन्दै गुनासो गर्नुभयो ।

गण्डक नहरका सम्बन्धमा भएको सम्झौता कार्यान्वयन गर्न भारत सरकारले तदारुकता नदेखाएको भन्दै सांसद चमारले सत्यतथ्य जानकारी गराउन सरकारसँग माग गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्