Logo

वातावरण प्रदूषण हुनुको मुख्य कारण तरकारी र मासुजन्य वस्तु



Spread the love

वातावरण प्रदूषण हुनुको मुख्य कारण तरकारी र मासुजन्य वस्तुबाट निस्कने अखाद्य पदार्थ रहेको जानकारहरुले बताएका छन्  ।  काठमाडौँ उपत्यकामा आयात गरिने तरकारी र मासुजन्य वस्तुबाट निस्कने अखाद्य वस्तु नै वातावरण प्रदूषणको मुख्य कारण रहेको सम्बद्ध निकायले बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जनज्योति ल फर्मले आज यहाँ आयोजना गरेको वातावरण अनुगमनको कानूनी पक्षसम्बन्धी क्षमता अभिवृद्धि तालीममा मन्त्रालयका सहसचिव डा. महेश्वर ढकालले उक्त जानकारी दिनुभएको हो । पछिल्लो समय काठमाडौँको वातावरणका कारण नागरिक विभिन्न रोगको शिकार बन्नुपरेको भन्दै डा. ढकालले यस विषयमा सबैले चासो बढाउनुपर्ने बताउनुभयो । काठमाडौँमा खेती गर्ने जग्गा छैन, तरकारी, मासु लगायत सम्पूर्ण खाद्य सामग्री बाहिरबाट आयात गर्नुपर्छ तीमध्ये सबैभन्दा बढी मासुजन्य बस्तु र तरकारीबाट बढी फोहर भित्रिने गरेको छ ।

“ती सामग्रीबाट निस्कने फोहरलाई उपत्यका बाहिर नै व्यवस्थापन गरी खान योग्यलाई मात्र काठमाडौं ल्याउनुपर्छ, अन्यथा कुनै एक स्थानमा मात्र सबै ठाउँको फोहर व्यवस्थापन गरेर शहर सफा हुँदैन,” ढकालले भन्नुभयो ।

वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले अझै पनि विभाग नीतिगत रूपमा स्पष्ट नभएको भन्दै काम गर्ने वातावरणका लागि पहिले नीति बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले थप्नुभयो, “उपत्यकाको फोहर व्यवस्थापन चुनौतीको रूपमा खडा भएको र त्यसको लागि खाद्य सामग्रीसँगै आउने फोहर बस्तु बाहिरी जिल्लामा नै व्यवस्थापन गरेर मात्र ल्याउनुपर्छ, नत्र समस्या थपिदै जान्छ । उपत्यकाबाट दैनिक बाह्र सय र काठमाडौँ महानगरपालिकाबाट दैनिक पाँच सय मेट्रिकटन फोहर निस्कन्छ । तीमध्ये ६० प्रतिशत कुहिने फोहर रहेको छ । विभागका करीब २५ कर्मचारीलाई आगामाी शुक्रबारसम्म तालीम सञ्चालन गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस्