Logo

सैनिक विमानस्थलमा बिस्फोट



Spread the love

सिरियाको राजधानी दमास्कस नजिकको सिरियाली सैनिक विमानस्थलमा शनिबार राति ठूलो विस्फोटन भएको छ ।

दमास्कसस्थित एक गैससले ‘इजरायली आक्रमणको सम्भावना’ औंल्याए पनि सरकारी सञ्चार माध्यमले प्राविधिक त्रुटीका कारण हतियार भण्डारमा आगलागी भएको जनाएको छ ।

दमास्कसको पश्चिमी इलाकामा रहेको माज सैनिक विमानस्थललाई लक्षित गरी ‘इजरायलले प्रहार गरेको क्षेप्यास्त्रबाट हतियार भण्डारमा क्षति पुगेको’ सिरियाली अब्जर्भेटरी फर ह्यूमन राइट्सका प्रमुख रामी आब्देल रहमानले बताए ।

यो विमानस्थलमा सिरियाली हवाई सैन्यको जासुसी संयन्त्र रहेको छ । सन् २०१७ को प्रारम्भमा पनि यस्तै आक्रमण हुँदा सिरिया सरकारले छिमेकी मुलुक इजरायलमाथि आरोप लगाएको थियो ।

सिरियाली सैनिक स्रोतहरुले माज हवाई अखडा इजरायलीहरुको निशानामा नरहेको बताएका छन् । सरकारी समाचार संस्था सानाले सेनाको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘हतियार भण्डारमा विस्फोट भएको तर त्यो विद्युतीय गडबडीका कारण भएको हो ।’

इजरायलले सिरिया द्वन्द्वमा प्रत्यक्ष सहभागिता जनाएको छैन, तर सिरियाभित्र रहेर इजरायल बिरोधी गतिविधिमा संलग्न हेजबोल्लाह समेतका लडाकू समूहलाई केन्द्रित गरी दर्जनौं हवाई हमला गरेको इजरायलले बताउँदै आएको छ ।

यही साताको सुरुमा पनि इजरायलले सिरियाभित्र सक्रिय इरानी सैनिक अखडामाथि आक्रमण गर्ने चेतावनी दिएको थियो । ‘सिरियाभित्र लडाका र विकसित हतियार प्रणाली स्थापना गर्ने इरानको प्रयत्नलाई ध्वस्त बनाउन इजरायली सेना प्रतिबद्ध छ,’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताए ।

जुलाईमा, उत्तरी अलेप्पोको एउटा सैनिक जाँच चौकीमा इजरायलले बम आक्रमण गरेको सिरियाले आरोप लगाएको छ । अब्जर्भेटरीका अनुसार उक्त आक्रमणबाट कम्तीमा नौजना सिरियाली सैनिक मारिएका थिए ।

सिरियाको द्वन्द्व आरम्भ भएको सात वर्षपछि मात्र सिरियाली सेनाले बिद्रोही र जिहादीको कब्जामा रहेको सम्पूर्ण मुलुकको करिब दुई तिहाई क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सफल भएको छ ।

सिरियाली सैनिकलाई रसिया र इरानी सेनाले मद्दत गरेका छन् । साथै, लेबनानी हेज्बोल्लाह लडाकु तथा इराकी, इरानी र अफगान मिलिसियाले पनि सिरियाली सरकारी फौजलाई सहयोग गरिरहेका छन् ।

एएफपी

प्रतिक्रिया दिनुहोस्