Logo

भवन नहुँदा स्वास्थ्य सेवा पाउन गाह्रो



Spread the love

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरदर दैनिक सुत्केरी हुने ५७ महिलामध्ये १७ शल्यक्रिया बाट हुनेगर्दछ ।

पछिल्लो समय अस्पतालले शल्यक्रियाबाट सुत्केरी गराउने विधिलाई निरुत्साहित गर्दै आएको छ । गत आवमा अस्पतालमा भर्ना भएका २८ हजार ५०३ महिलामध्ये २० हजार ६८० महिला सुत्केरी भएका थिए ।

अस्पतालका निर्देशक प्रा डा जागेश्वर गौतमले अस्पतालको ५९ औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सुत्केरी भएकामध्ये ६ हजार ८२ महिलाको मात्र शल्यक्रियाका माध्यमबाट बच्चा जन्माइएको जानकारी दिनुभयो । प्रसूति तथा स्त्रीरोग उपचारका लागि ४१५ श्ययाको सो अस्पतालको भवनलाई भूकम्पले क्षति पुर्याएका कारण अहिले ३५० श्ययामा खुम्चिन बाध्य रहेको छ । जापान सरकारको सहयोगमा निर्माणाधीन तीन तले भवन अगामी वर्ष हस्तान्तरण गर्ने कार्यक्रम छ ।

“श्ययाको अभावमा अस्पतालमा सेवा लिन आउने बिरामीलाई नफर्काउने तथा अन्यत्र नपठाउने अस्पतालको नीति छ । आर्थिक अभाव भएर बिरामी बिना उपचार फर्किनु पर्दैन”, निर्देशक प्रा डा गौतमले भन्नुभयो ।
आमा सुरक्षा कार्यक्रम, नवजात शिशु उपचार, पाठेघर उपचार सुरक्षित गर्भपतन लगायतका सेवा अस्पतालमा निःशुल्क रहेको छ । गत आवमा एक हजार २७८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । गत आवमा एक लाख ८४ हजार १९९ महिलाले प्रसूति तथा स्त्रीरोग सेवा लिएका थिए ।
हाल अस्पतालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत रही प्रसूति तथा स्त्रीरोग सम्बन्धी स्नातकोत्तर (एमडी), प्रसूति नर्सिङ (मिडवाइफरी) तथा परोपकार नर्सिङसमेत सञ्चालनमा ल्याएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले दरबन्दी अनुसार प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रदेश तहमा पुर्याउन मन्त्रालयले उच्च प्राथमिकता दिएको जानकारी दिँदै यस अस्पताल प्रसूति तथा स्त्रीरोग उपचारमा केन्द्रीय अस्पताल हुने छ भन्नुभयो । परिवार स्वास्थ्य महाशाखाका प्रमुख चिकित्सक डा आरपी विच्छाले आमा सुरक्षा कार्यक्रम अन्तर्गत अस्पताललाई थप सहयोग प्रदान गर्ने जानकारी दिनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष डा लता बज्राचार्यले मातृशिशु तथा नवजात शिशु स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको अस्पतालाई अगामी दिनमा सरकारले थप आर्थिक सहयोग प्रदान गर्नुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्